संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्बारा संविधानसभाको म्याद कुनै पनि शर्तमा थप्न नहुने निर्णय

काठमाडौ  – संविधानसभाको म्याद कुनै पनि शर्तमा थप्न नहुने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बताएको छ । मोर्चाको बैठकले आगामी जेठ १४ गते भित्र नै शान्ति र संविधान निर्माण प्रक्रिया  टुंगोमा पुर्याउनु पर्ने भन्दै म्याद थप्न नहुने निर्णय गरेको हो ।

सरकार निर्माण भएको तीन  महिना हुन लाग्दा समेत शान्ति प्रक्रिया गतिहिन भएको चिन्ता गर्दै मोर्चाले तोकीएको मिति भित्र संविधानको पहिलो एकीकृत मस्यौदा निर्माण गर्ने गरी मुख्य दलका शिर्ष नेताहरु अघि बढेकाले संविधान निर्माण नगर्ने मनाशय स्पष्ट भएको  बताएको छ ।


सोमबार बसेको मोर्चाको निर्णय सार्वजनिक गर्न राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी मोर्चाले नागरीकताको आधारमा सरकारले गरिरहेको मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र बनाउने कार्य तत्काल रोक्न माग गरेको छ ।

आगामी वैसाख १८ गते सम्म संकलन कार्य नरोके १९ गतेबाट स्थलगत रुपमा संकलन कार्य अवरोध गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसैगरी शान्ति र संविधान निर्माणमा दवाव दिन मोर्चाले विराटनगर, जनकपुर नेपालगंज, वीरगंज, कन्चनपुर र भैरहवामा आमसभा गर्ने निर्णय समेत मोर्चाले गरेको छ ।