शिविरबाट धारिलो हतियारसहित बाहिरिएका माओवादी लडाकुद्बारा मोरङ केराबारीका गाउँलेलाई नियन्त्रणमा लिई कुटपिट

इटहरी – मोरङ केराबारीका गाउँलेलाई शिविरबाट धारिलो हतियारसहित बाहिरिएका माओवादी लडाकुले सोमबार राति  नियन्त्रणमा लिई कुटपिट गरेका छन्। प्रथम डिभिजन मुख्यालय माताहात रहेको सहायक शिविर याङशीलाको छिन्ताङ सुखानी बिग्रेडका लडाकुको कुटपिटबाट एकै परिवारका तीन सहित ६ घाइते भए।

 

३० जनाको संख्यामा राति नौ बजे पुगेका लडाकुले केराबारी-७ का मेघराज राईलाई घर घेरा हाली नियन्त्रणमा लिएर कुटपिट गर्न थालेपछि प्रतिकार गर्दा ६२ वर्षीय उनका बाबु नरबहादुर राई र २० वर्षीय भाई मिलन राई घाइते भएका हुन्। शिविरभन्दा दुई किलोमिटर पूर्व तर्फ रहेको गाउँमा गएर लडाकुले राई परिवारबाहेक नविन थापामगर, टीका मगर र विजय भुजेलललाई कुटपिट गरेका थिए। लडाकुले नविन, टीका र विजय सामान्य घाइते भए पनि राई परिवारलाई भने मरणसन्न हुने गरी कुटपिट गरेका थिए।

‘बेलुकाको खाना खाएर सुन्ने तयारी गर्दै थिए। सवै गाउँका युवा आतिरिएर दौडिएर आए। ए के भयो? भनेर बाहिर निस्किएपछि त यो गाउँको दादा तै होस् भन्दै कुटे,’ मेघराजले भने। मेघराजको टाउँकोमा गम्भीर चोट छ। टाउको बाहेक शरीरभरी कुटपिट गरेका गहिरो निलडाम छन्। लडाकुले उनलाई आधा घण्टाभन्दा बढी नियन्त्रणमा लिएर कुटपिट गरेको सुनाए।

‘परिवारका सदस्य र गाउँलेले पतिकार नगरेका हुन्थे त मलाई मार्थे। धन्न बाचेँ, माओवादीले यो समेत दुई पटक भयो कुटेको,’ उनले पीडा पोख्दै भने, ‘मैले माओवादीको केही बिगारेको पनि छुइन् तर पनि पटक-पटक निसाना बनाएर कुटिने गरिएको छ।’

मेघराज एमालेको कार्यकर्ता पनि हुन्। एमाले कार्यकर्ता भएकै आधारमा पटक-पटक कुटपिट मार खेप्न परेको गाउँलेहरु बताउँछन्। उनको गाउँमा राम्रै पकड रहेकाले गर्दा पनि निसाना बनाएको अनुमान गरिएको छ।

स्थानीय युवराज थापाका अनुसार लडाकुले बेला-बेलामा गाउँ प्रवेश गरेर ज्यादती गर्ने गरेका छन्। एक महिनाअघि फागु पूर्णिमाको अवसरमा पनि माओवादी लडाकुले मादक पदार्थ सेवन गरी गाउँमा आतंक मच्चाउँदा गाउँका युवासँग दोहोरो झडप भएको थियो। सो झडपमा तीन जना लडाकु घाइते भएका थिए। माओवादी लडाकुले भने गाउँलेको दुईवटा घर तोडफोड गरेका थिए।

बेला-बेलामा लडाकुले गाउँमा प्रवेश गरी आतंक मच्चाउँदा गाउँका युवाले प्रतिकार गरेको रिसइवीलाई लिएर सोमबार गाउँलेलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको धनमाया तामाङ्ले बताइन्। ‘माओवादी लडाकुले गाउँलेलाई शान्तिपूर्ण ढंगले बस्न दिएका छैनन्। जुन बेला पायो त्यही मौका पारेर गाउँमा आतंक मच्चाउने अति जे मन लाग्यो त्यही गरेर हिड्न गरेका छन,’ उनले भनिन्।

लडाकुले गाउँका युवालाई प्रमुख निसाना बनाएर कुटपिट र आक्रमण गर्नुका साथै महिला र युवतीमाथि समेत दुर्व्यहार गर्ने गरेको कल्पना घिमिरेले बताइन्। ‘माओवादीलाई जनयुद्धमा आफुले सुत्ने ओछ्यान दिउ आफुले खाना दियौ, त्यतिवेला त्यसरी लगाएको गुन अहिले ज्यादती र आतंक मच्चाएर तिर्दै आएका छन,’ घिमिरेले आक्रोसित हुर्दै भनिन्।

प्रहरीले माओवादी लडाकुले नै गाउँमा आतंक मच्चाउने गरेको र कुटपिट भएको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रुद्र चुडालले भने, ‘गाउँलेलाई माओवादी लडाकुले नै कुटपिट गरेका हुन् तर तत्काल पक्राउ गर्न सकिएन्। प्रहरी टोली पुग्दा भागि सकेका थिए।’

लडाकुको ज्यादती बिरुद्ध स्थानीयले मंगलबार केराबारीबाट माओवादी बसेको शिविर याङ्सिला क्षेत्रमा क्षेत्रमा जुलुस प्रदर्शन गरेका छन्। जुलुसमा सयौ गाउँलेको सहभागिता रहेको थियो। दुई गाविस क्षेत्रमा प्रदर्शनपछि जुलुस केराबारीमा कोणसभामा परिणत भएको थियो।

माओवादी लडाकुको छिन्तांङ सुखानी बिग्रेड याङ्सिलाका विग्रेड कमाण्डर शिव श्रेष्ठले लडाकुले गाउँलेमाथि कुटपिट गरेको इन्कार गरे। ‘सवैतिरबाट लडाकुले कुटपिट गरेको फोन आएपछि सर्च गर्दा सवै शिविर भित्रै थिए,’ उनले भने। यसभन्दा अघि भने लडाकुले गाउँ प्रवेश गरी गाउँलेलाई ज्यादती गर्ने र आतंक फैलाउँने गरेको श्रेष्ठले स्वीकार गरे।

गाउँलेमाथि भएको कुटपिटको भने छानबीन गर्न श्रेष्ठकै संयोजत्वकमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिका सदस्यहरुमा सहायक कमाण्डर विक्रम लामिछाने, बटालियन कमाण्डर अनुप राई, परिचित लिम्बु र धनहर्क राई छन्। श्रेष्ठले छानबीनका क्रममा लडाकु संलग्न भएको पाइएमा भने कारबाही गर्ने बताए।

 

– नागरिक