पूर्व युवराज पारस साहलाई आइन्दा यस्तो गल्ति नगर्ने कागज गराइ छोडन आदेश

भरतपुर, चितवन – पूर्व युवराज पारस साहको केही सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत जिल्ला प्रशासन चितवनमा चलिरहेको मुद्धाको बुधबार फैसला भएको छ ।

बादी र प्रतिवादी वकिलको बहस सुनेपछि न्यायाधीश प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले ऐनको दफा २ (६) बमोजिम आइन्दा यस्तो गल्ति नगर्ने कागज गराइ छोडन आदेश दिएका छन् ।

ऐन अनुसार पारसले कागज गर्न ३५ दिन भित्र जिल्ला प्रशासन उपस्थित हुनुपर्ने छ । किटानी जाहेरी, घटनास्थल मुचुल्का, वकपत्र र बयानका आधारका साथै बयानमा पारसले रुवेल सित भनाभन भएका स्वीकार गरेकाले कसुरविहीन भन्न नमिल्ने फैसलामा उल्लेख छ ।

फैसलामा शान्ति सुरक्षा कायम राख्न सचेत नागरिकको दायित्व हुने उल्लेख छ । यस बीचमा साप्ताहिक तथा दैनिक पेशी सूचिमा चढाउँदा मुद्धा किनार हुने देखिएको उल्लेख छ । फैसलासँगै ४ महिना चलेको मुद्धा सकिएको छ ।

बुधबार पनि पारसको तर्फबाट अधिबक्ताहरु गणेश केसी, शिवबहादुर पाण्डे, बदि्र गौतम, चुडामणि सापकोटा, पोषराज काफले, हिरा रेग्मी, विष्णुहरी कोइराला र वादीको तर्फबाट जिल्ला न्यायाधीवक्ता गीताप्रसाद तिम्सिना र सह न्यायाधिवक्ता भीमप्रसाद भुर्तेलले बहस गरेको जिल्ला प्रशासन कार्यालयको कानुन शाखाका नासु हरि  सिग्देलले सञ्चारमाध्यामलाई जानकारी गराए ।

गत मंसिर २५ गते चितवन राष्ट्रिय निकुञ्जभित्रको होटलमा टाइगर टप्समासँगै रहेका तत्कालिन उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाताका छोरीज्वाईँ रुवेल चौधरीसँग वादविवाद हुँदा शाहमाथि गोली चलाएको आरोप छ ।

अपराधमा मुछिएपछि केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा खेपिरहेका शाह गत मंसिर २८ गते पक्राउ गरि पुस १ गते १० हजार धरौंटी राखेर तारेखमा रिहा भएका थिए । फागुन १९ गते दोश्रो तारेखमा स्यवं उपस्थित भएका थिए ।