त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतलाई पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत भूमिनन्द भण्डारीलाई पक्राउ गरेको छ ।

दुई सभासदको राहदानीमा फोटो परिवर्तन गरी विदेश उडाउने कार्यमा संलग्न भएको खुलेपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।

दुवै सभासदको राहदानीमा लागेका डिर्पाचरका स्टिकर भण्डारीले बुझेको खुलेपछि प्रहरीले भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । ‘नियन्त्रणमा लिएलगत्तै भण्डारीले प्रहरीलाई प्रारम्भिक बयानका क्रममा अपराध गरेको स्विकारेका छन्,’ कूटनीतिक राहदानी दुरुपयोग गरेको सबन्धमा छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख राजेन्द्रसिंह भण्डारीले भने, ‘थप अनुसन्धानका लागि म्याद लिन अदालतमा लैजाँदा पनि अधिकृत भण्डारीले न्यायाधीशसमक्ष आर्थिक प्रलोभनमा परी गलत कार्य गरेको बयान दिएका छन् ।’ प्रहरीले अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेलगत्तै भण्डारी स्वतः निलम्बनमा परेका छन् । अनुसन्धान गरिरहेका एक अधिकृतका अनुसार अध्यागमन अधिकृत भण्डारीले यसबारे थप विवरण अझै बताएका छैनन् ।  

 अनुसन्धान ब्युरो प्रमुख भण्डारीका अनुसार अध्यागमन अधिकृत भूमिनन्दले विदेशबाट डिपोर्ट भई फर्केर आएका पृथ्वी छत्याल र सीता शाहलाई विमानस्थलबाट भगाएर बाहिर निकालेका थिए । प्रचलित कानुनअनुसार दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाउनुपर्दथ्यो । अस्ट्रेलिया जाने क्रममा दुबईको आबुधावीबाट फर्काइएका थिए । उनीहरू सभासदद्वय विश्वनाथप्रसाद यादव र गायत्री साहको राहदानीमा तस्बिर परिवर्तन गरी उडेका थिए । दुवै सभासद हाल राहदानी बिक्री गरेको अभियोगमा प्रहरी हिरासतमा छन् ।