काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिवस्तरका महाशाखा प्रमुखहरूको सरुवा भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आयोगमा कार्यरत सबै पुराना अधिकृतलाई फिर्ता बोलाएको हो । फिर्ता भएका सहन्यायाधिवक्तामा रमेश पोख्रेल, समीर सिलवाल, खगराज पौडेल र राजेन्द्र सुवेदी छन् ।
उनीहरू चारै जनाको स्थानमा महान्यायाधिवक्ताको कार्यालयबाट नयाँ सहन्यायाधिवक्ता ऋषिराम दवाडी, बद्री गौतम, राजेन्द्र पोख्रेललाई पठाएको छ । हाल आयोगमै कार्यरत महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता बलराम शर्मा र डिल्लीरमण आचार्यको भने थमौती भएको छ । नयाँ पठाएकामध्ये ऋषि र राजेन्द्र यसअघि आयोगमा काम गरेर फर्केका अधिकृतहरू हुन् ।
‘सबै उच्च अधिकृत र महान्यायाधिवक्ताज्यूबीच व्यापक छलफलपछि फिर्ता बोलाउने र पठाउनेको नामावली तय भएको हो,’ महान्यायाधिवक्ता कार्यालयका युवराज सुवेदीले भने । काज फिर्ता भएका अधिकांश दुई वर्ष पुराना थिए । केहीअघि विमानस्थल प्रकरणमा विवादमा आएका समिर सिलवाल भने चार वर्षन्दा बढी समयदेखि आयोगमा थिए ।
यसअघि विवादमा परेका सहसचिव रामकुमार आचार्य र हेमराज भट्टराई भने अझै आयोगमै छन् । आचार्य कानुन मन्त्रालयबाट र उपसचिव भट्टराई खानेपानी संस्थानबाट सरुवा भई आयोगमा आएका हुन् । स्रोतका अनुसार आयोगका कार्यवाहक प्रमुख भगवती काफ्लेले हटाउन चाहँदा पनि उनीहरूको सरुवा हुन सकेको छैन । सहसचिव आचार्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका साला हुन् । महान्यायाधिवक्ताको कार्यालयले गरेको सरुवामा नेपाल प्रहरीको सुडान घोटाला प्रकरणका अनुसन्धान अधिकृत राजेन्द्र सुवेदीको पनि सरुवा भएको छ । सहन्यायाधिवक्ता सुवेदीलाई यसअघि महान्यायाधिवक्ताको कार्यालयले रणबहादुर बम प्रकरणमा बयान लिइरहेको थियो ।
बम पाटन पुनरावेदन अदालतको मुख्य न्यायाधीश रहँदा सहन्यायाधिवक्ता राजेन्द्र सुवेदी सरकारी वकिल कार्यालय, पाटनका प्रमुख थिए ।