शान्ति प्रक्रिया र संविधान निर्माण विषयमा प्रधानमन्त्री झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालाबीच छलफल


प्रधानमन्त्री खनाल कोइराला निवास महाराजगंजमा । तस्विरः प्रधानमन्त्रीको सचिवालय

 

काठमाडौ – शान्ति प्रक्रिया र संविधान निर्माण विषयमा प्रधानमन्त्री  झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालाबीच छलफल भएको छ ।

बिहीबार बिहान कोइराला निवास महाराजगंजकमा दुई जनाबीच भेटवार्ता भएको हो ।   खनाल प्रधानमन्त्री भएपछि विपक्षी दलका नेता कोइरालासंग निवासमै पुगेर छलफल गरेको पहिलो पटक हो ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोइराला र प्रधानमन्त्रीबीच भएको भेटमा शान्ति प्रक्रियालाई चाडै टुंगोमा पुरयाउने विषयमा समान चिन्ता, चासो र मत रहेको थियो । प्रधानमन्त्री खनालले शान्ति प्रक्रियालाई चाडै टुंगोमा पुररयाउनका लागि सरकारले गरिरहेको पहलकाबारे पनि कोइरालासंगको भेटमा जानकारी गराएका थिए । यस्तै उनले जेठ १४ नजिकिदैं गर्दा संविधान समयमा जारी कसरी गर्ने सम्बन्धमा भइरहेको प्रगतिबारे पनि जानकारी दिएका थिए  ।

प्रधानमन्त्री खनालले बजेट ल्याउन सरकार लागिपरेको सैद्धान्तिक अवधारणकोबारे पनि कोइरालालाई  जानकारी गराए ।  जवाफमा कोइरालाले बजेट सम्बन्धमा पार्टीको मत भिन्नताबारे उल्लेख गर्दै ज्ञापन पत्र मार्फत केही कुराहरु जानकारी गराउने बताए । प्रधानमन्त्री खनालले कोइरालासंगको भेटवार्ता सौहार्दपूर्ण रहेको बताए । उनले मुलुकको वर्तमान अवस्था,शान्ति र संविधानको  विषयमा कोइरालासंग छलफल भएको जनाए । यसबारे आजै बिहीबार साँझ कांग्रेसले प्रधानमन्त्री खनाललाई बजेट सम्बन्धमा ज्ञापन पत्र बुझाउँदै छ ।