काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीश खिलराज रेग्मीको नाम बिहीबार सर्वसम्मत अनुमोदन गरेको छ ।
समितिमा प्रस्तावित प्रधानन्यायाधीश रेग्मीले न्यायसम्पादनमा ढिलासुस्ती हटाउन प्राथमिकता दिने प्रतिबद्धता जनाए । रेग्मीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन उजुरी परेका थिए । आफूले तीन हजार मुद्धाको फैसला गरेको बताउँदै उनले उजुरी पर्नुको कारण सभासदलाई जानकारी दिएका थिए ।
संवैधानिक निकायका पदाधिकारीलाई संवैधानिक परिषद्ले सिफारिस गर्ने र त्यसमाथि संसदीय सुनुवाई गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति रामवरण यादवले प्रधानन्यायाधीश नियुक्त गरेपछि रेग्मीले बैशाख २३ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
रेग्मीले न्यायसम्पादनमा सम्झौता नगर्ने दोहोर्याए । ‘न्याय सम्पादनमा ‘कम्प्रोमाइज’ हुँदैन, पदमा रहँदा निर्भिकतापूर्वक काम गर्छु,’ उनले संसदीय सुनुवाई समितिको बैठकमा भने ।
रेग्मीले अदालतको पुनर्संरचना र आधुनिकीकरण गर्दै लैजाने योजना पनि सुनाएका थिए । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको म्याद बैशाख २२ गते सकिने भएपछि उनी अहिले विदामा छन् । श्रेष्ठमा विदामा रहेकाले रेग्मी कायममुकामय छन् ।
को हुन् रेग्मी ?
रेग्मी पोखराथोक गाविसमा २००६ जेठ १७ गते जन्मिएका थिए । उनले २०२८ सालमा सर्वोच्चमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए । २०३० फागुन १८ गते जिल्ला न्यायाधीश भएका थिए । २०४१ देखि ०४८ सम्म उनले सर्वोच्चमा सहायक रजिस्ट्रार भएर पनि काम गरेका थिए । जिल्ला पुनरावेदन हुँदै उनी २०५९ माघ १५ गतेदेखि सर्वोच्चमा न्यायाधीश छन् ।
२०६० यता सर्वोच्चमा भएका महत्त्वपूर्ण न्यायिक सुधारहरू ज्यादाजसो उनकै नेतृत्वमा भएका छन् ।
रेग्मी कानुनमा स्नातक हुन् भने मानविकीमा स्नातकोत्तर छन् । सर्वोच्च अदालत र नेपाल सरकारले गठन गरेका दर्जनौं समितिहरूमा उनले संयोजक भएर काम गरेका छन् । संसद्मा पारित हुने क्रममा रहेको देवानी संहिता उनकै नेतृत्वमा तयार भएको थियो । उनी २०६४ मा ‘तराई मधेस घटना सम्बन्धमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ समिति’ का अध्यक्ष पनि थिए । उनी दुई छोरा र एक छोरीका पिता हुन् । उनका एक छोरा र एक छोरी अमेरिकामा छन् ।



