संविधानसभा अध्यक्षद्धारा राजनीतिक दलका मुख्य नेताहरूलाई राजधानी नछाड्न आग्रह

काठमाडौं – राजनीतिक दलका मुख्य नेताहरूलाई राजधानी नछाड्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आग्रह गरेका छन्। संविधानसभाको म्याद सकिन एक महिनामात्र बाँकी रहेकाले शान्ति र संविधानका लागि सबै दलका नेताहरूलाई राजधानीमै बसेर छलफलमा जुट्न आग्रह गरेका हुन्।

 

नेम्वाङलाई ज्ञापनपत्र बुझाउन गएका नेपाली कांग्रेस, मधेशी दलहरू लगायत प्रतिपक्षमा रहेका ११ दलका नेताहरूसँग कुरा गर्दै नेम्वाङले भने, ‘शान्तिप्रक्रियालाई सबै दल मिलेर अघि बढाउनुपर्‍यो, सबै दलका नेताहरू राजधानी केन्द्रित भएर लाग्नुपर्छ, कोही पनि राजधानी नछाड्नुस्।’


नेम्वाङले विशेष समिति नियमित बस्नुपर्ने, संविधानका विवादबारे पनि दलहरूलाई नियमित रूपमा छलफल गर्न आग्रह गरे। सभामुखले आग्रह गरे पनि एमालेकै अध्यक्ष प्रधानमन्त्री झलनाथ खनाल वैशाख २४ देखि २९ सम्म टर्कीको स्तानबुल जाने कार्यक्रम छ।