विश्व बैंकद्धारा सिँचाइ आयोजनाका लागि ३ अर्ब ४६ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग, महिला आरोहण टोलीको शुल्क मिनाहा

काठमाडौ – कैलालीस्थित निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि विश्व बैंकले  ३ अर्ब ४६ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बैंकसित सहयोग सम्झौता वार्ता गर्न टोली गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षामन्त्री गंगालाल तुलाधरले जानकारी दिए ।

छानबिन समितिको म्याद थप सरकारले केन्द्रीय कारागारभित्रै भारतीय अपराधी गएर बन्दी युनुस अन्सारीमाथि गोली प्रहार भएको घटनाको छानबिन गर्न गठित समितिको म्याद १५ दिन थपेको छ । मन्त्रिपरिषद्ले समिति बिहीबार सकिन लागेको समितिको म्याद १५ दिन थपेको हो । पुनरावेदन अदालतका न्यायाधीश राजेन्द्र पराजुलीको अध्यक्षतामा गठित समितिमा सहमहान्यायाधिवक्ता प्रेमबहादुर कार्की र कुवेरसिंह राना सदस्य छन् ।

महिला आरोहण टोलीको शुल्क मिनाहा

सरकारले अन्नपूर्ण चौथो आरोहण २०११ मा जान लागेको चार सदस्यीय महिला टोलीको ३२ सय डलर आरोहण दस्तुर मिनाहा गरेको छ । टोली ७ हजार ५ सय २५ मिटर अग्लो उक्त हिमाल आरोहण गर्न केही दिनभित्रै जाने तयारीमा छ । मन्त्रिपरिषद्ले शान्ति मन्त्रालय मातहतको द्वन्द्वपीडित राहत तथा पुनःस्थापना इकाईको म्याद असार मसान्तसम्म थप गरेको छ ।