काठमाडौं – माओवादीलाई आतंककारी सूचिबाट हटाउने प्रक्रिया सुरु भएको अमेरिकी राजदूत स्कट् एच् डेलिसीले जानकारी दिएका छन् ।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईसँग शुक्रबार अपरान्ह भेट गरी राजदूत डेलिसीले नेपालस्थित दूतावासले माओवादीलाई आतंककारी सूचिबाट हटाउन पहल गरिरहेको जानकारी दिएका हुन् । ‘शान्ति प्रक्रिया पूरा भएको भए माओवादीलाई आतंककारी सूचिबाट हटाउन सजिलो हुने थियो,’ डेलिसीले भनेका थिए ।
माओवादीले अध्यक्ष पुष्पकमल दाहालको शान्ति र संविधानको प्रस्तावलाई पारित गरेलगत्तै शुभकामना दिन राजदूत डेलिसी भट्टराई निवास सानेपा पुगेका थिए । झण्डै एक घण्टा भएको भेटमा राजदूत डेलिसीले माओवादीको पछिल्लो निर्णयको स्वागत गरेको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
भट्टराईले भने माओवादीले अब सवै राजनीतिक दलहरुसँग सहकार्य गरी शान्ति र संविधानको कार्यभार पूरा गर्न समय खर्चने जानकारी दिएका थिए । ‘माओवादीको प्राथमिकता शान्ति र संविधानमा छ, यसलाई सहज ढंगले अगाडि बढाउन भोलिदेखि नै पहल सुरु गर्छौं,’ भट्टराईले डेलिसीलाई भने ।
डेलिसीले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण कसरी अगाडि बढ्छ भनेर भट्टराईसँग जिज्ञासा राखेका थिए । डेलिसीले शान्ति प्रक्रियाले छिट्टै पूर्णता पाउने आशा व्यक्त गरेका थिए ।
भेटमा राजदूत डेलिसीले माओवादीमा अमेरिकाको पूर्वाग्रह नरहेको प्रष्ट पारेका थिए । ‘माओवादीप्रति अमेरिकाको कुनै पूर्वाग्रह छैन, अन्य दलहरुलाई जस्तै माओवादीलाई पनि अमेरिकाले व्यवहार गर्छ,’ डेलिसीको प्रष्टोक्ति थियो ।
भेटमा छिमेकी मुलुकहरुसँगको सम्बन्धका विषयमा पनि छलफल भएको थियो । ‘माओवादी शान्ति प्रक्रियालाई पूर्णता दिएर भारत, चीनलगायतका मुलुकसँग समान अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन चाहन्छ,’ भट्टराईको भनाइ उद्धृत गर्दै पाण्डेले भने ।



