‘बाबुरामलाई प्रधानमन्त्री बनाइए समयमै शान्ति र संविधान बन्न सक्ने’– कांग्रेस नेता प्रदिप गिरी



काठमाडौ, वैशाख १७ – कांग्रेस केन्द्रीय सदस्य प्रदिप गिरीले बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भए समयै शान्ति प्रक्रिया र संविधान निर्माण टुंगोमा पुग्ने दाबी गरेका छन् ।

 

नागरिक समूहले शान्ति र संविधान निर्माणमा नागरिक समाजको भूमिका विषयक छलफलमा बोल्दै नेता गिरी माओवादीमा उपाध्यक्ष भट्टराईको विचार स्थापित हुँदै गएको दाबी गरे । उनले उपाध्यक्ष भट्टराईको नेतृत्वमा कांग्रेस पनि सरकारमा गएर शान्ति र संविधान निर्माण सहयोग पुर्‍याउनुपर्ने बताए ।

 

‘मैले कांग्रसभित्र पनि भट्टराईको नेतृत्वमा सरकारमा जानुपर्ने बहस चलाएको छु,’ उनले भने, ‘कांग्रेस र माओवादीको मिलीजुली सरकार भएमात्र देशमा शान्ति आउँछ, त्यसैले ती दुई शक्ति मिल्नै पर्छ ।’

 

माओवादी पोलिटब्युरो सदस्य राम कार्कीले शान्ति र संविधानका लागि माओवादीको नेतृत्वमा कांग्रेसले सरकारमा सहभागी हुनुपर्ने दाबी गरे । ‘माओवादी ठूलो दल भएकाले हाम्रो नेतृत्वमा कांग्रेसले सरकारमा आउनुपर्छ,’ उनले भने, ‘अहिले लडाइँ भनेको कांग्रेससँग हो, हामीबीच कुरा मिल्यो भने शान्ति र संविधानले पूर्णता पाउँछ ।’

 

नागरिक अगुवा देवेन्द्रराज पाण्डेले शान्ति र संविधान खतरामा पर्दै गएकाले अब नागरिकले दलहरूविरुद्ध खबरदारी गर्ने बेला आएको बताए । नागरिक सरोकार समहूका अध्यक्ष रणबहादुर रावलले जेठ १४ अगावै नागरिक अगुवाहरूले दलहरूविरुद्ध शान्ति र संविधानका लागि सडकमा आउनुपर्ने बताए ।