काठमाडौं – राष्ट्रिय जनमोर्चाले गणतन्त्र सुदृढीकरण, राष्ट्रियताको रक्षा र सङ्घीयताको विरोधमा आन्दोलन केन्द्रित गर्ने भएको छ। दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले यस्तो निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमार्फत् दिइयो। अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले देश टुक्राउने भएकाले आन्दोलन त्यसविरुद्ध केन्द्रित हुने जानकारी दिए।
जनमोर्चाले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर पोखरामा हालै सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले सभासद् चित्रबहादुर केसीको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको जानकारी दियो।
त्यहाँ बोल्दै केसीले दोस्रो राष्ट्रिय सम्मेलनले सङ्घीयता र सङ्घीयतासित जोडिएको जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेस, स्वायत्त प्रदेश, जातीय अग्राधिकार, बहुराष्ट्रवाद जस्ता घातक अवधारणा खारेज गर्नुपर्ने, नागरिकता ऐनमा भएका अराष्ट्रवादी प्रावधान खारेज हुनुपर्ने, कालापानीबाट भारतीय सेनाको फिर्ती जस्ता विषयलाई अनुमोदन गरेको जानकारी पनि उनले दिए।
जनमोर्चाले नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि ठूला दलहरुको सत्तालिप्साका कारण गुम्ने अवस्थामा पुगेको ठहर गर्दै गणतन्त्र संस्थागत गर्नतर्फ पार्टीले दबाबमूलक कार्यक्रम गर्ने पनि जनाएको छ।
त्यसैगरी सो पार्टीले लडाकुको समायोजन, कब्जा सम्पत्ति फिर्ता शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण कार्य भएको ठहर गर्दै राष्ट्रिय सहमतिको बाटोबाटै यस कार्यलाई सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ।
त्यसैगरी सम्मेलनले संविधान निर्माणमा माओवादी बाधक भएको ठहर गर्दै एमालेको लामो समयको तटस्थता नीतिले पनि संविधान निर्माण र शान्ति प्रक्रियाको कामलाई पनि केही प्रभाव पारेको ठहर गरेको छ।