सत्तारुढ दल एमाले र माओवादीद्बारा बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी कांग्रेस लगायत अन्य दलसँग सहमति गरी अघि बढने निर्णय

काठमाडौ  – सत्तारुढ दल एमाले र माओवादीले सोमबारबाट सुरु हुने बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी कांग्रेस लगायत अन्य दलसँग सहमति गरी अघि बढने निर्णय गरेका छन् । एमाले र माओवादीबीच सोमबार बिहान भएको छलफलमा बजेटबारे कांग्रेस लगायत अन्य दलसँग सहमति गरी अघि बढन दुवै दल सहमत भएका छन् ।

सिंहदरबार स्थित माओवदी संसदीय कार्यलयमा बसेको बैठकमा अधिवेशन सम्बन्धमा दलहरुबीच विवाद कायम अन्त्य गरी अघि बढने निर्णय भएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । बैठकपछी गौतमले संचारकर्मीसँग कुरा गर्दै सोमबारै तीन दलको बैठक बसी सहमतिका लागि प्रयास गरिने बताए ।

बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणबारे समेत छलफल भएको थियो । यस्तै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठ १४ गते भित्र सेना समायोजनको मोडालिटी र संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्ने गरी छलफल अघि बढाउने निर्णय भएको जानकारी दिए ।

बैठकमा सरकार विस्तारबारे भने कुनै छलफल नभएको उल्लेख गर्दै श्रेष्ठले माओवादी र मधेसी जनअधिकार फेरमले मन्त्री मण्डलमा सहभागी व्याक्तिको नाम तय गर्ने वित्तिकै प्रधानमन्त्रीले मन्त्री परिषद् विस्तार गर्ने उल्लेख गरे ।

शान्ति र संविधानमा केन्द्रीत हुने पार्टीको कार्यनीति अनुरुप सहमतिका लागि सक्रिय पहल गर्ने निर्णय अनुसार माओवादीले अन्य दलसँग छलफल सुरु गरेको हो ।