माओवादी सभासद् झक्कुप्रसाद सुवेदीलाई काठमाडौंको तीनकुनेमा एक चिया पसलेले दुई झापड हाने


काठमाडौं – माओवादी सभासद् झक्कुप्रसाद सुवेदीलाई सोमबार साँझ राजधानीको तीनकुनेमा एक चिया पसलेले दुई झापड हानेका छन् ।


 

संसदबाट बाहिरिएर घर जानेक्रममा सभासद् सुवेदीलाई तीनकुने कफी सपका सञ्चालक गोर्खाको गाईखुर- ८ का प्रेमराज देवकोटाले दुई झापड हानेका हुन् । देवकोटा तीनकुने सुविधानगरमा कफी सप चलाउँदै आएका थिए ।

 

‘संविधान कहिले बनाउँछौ’ भन्दै देवकोटाले सभासद् सुवेदीलाई बोलाएर झापड हानेका हुन् । ‘संविधान कहिले बनाउने भनेर सोधे मैंले काम भइरहेको छ, धैर्य गर्नुस्, संविधान बनाउँछौं भन्ने वित्तिकै दुई गालामा एक एक थप्पड हाने’ सभासद् सुवेदीले भने, ‘पसलमा दुई जना वृद्ध थिए उहाँहरुले किन पिटेको भनेर पनि सोधे, मैंले चाँही केही भनिन् ।’

 

देवकोटाले सभासद्लाई झापड हानेपछि ‘तथानाम’ गाली गरेका थिए । उनले माओवादी पार्टी कार्यालय कोटेश्वर पेडिसडाँडातिर देखाउँदै ‘जनतालाई दिनुसम्म दुःख दियौ’ भन्दै कराएका थिए ।

 

सभासदलाई झापड हानेपछि ग्राहकलाई चिया बाँड्दै गर्दा प्रहरीले देवकोटालाई पक्राउ गरेको छ । ‘म मर्न तयार छु तर जनतालाई दुःख दिनेलाई छाडि्दन,’ उनले सञ्चारकर्मीसित भने, ‘मलाई केही भएको छैन तर ‘मेन्टल’ अस्पताल लगे पनि लैजाऊ ।’


द्वन्द्वकालमा नै गोरखाबाट राजधानी आएको बताउने देवकोटा ग्राहकहरुसित माओवादीले आफूलाई दुःख दिएको बताउँथे । उनी आफूलाई गोरखाबाट शिक्षक जागिर छाडेर परिवारसहित काठमाडौं आएको बताउँथें ।

सभासद सुवेदीले आफूमाथि भएको दुर्व्यवहारबारे प्रमुख सचेतक पोष्टबहादुर बोगटीलाई जानकारी गराइसकेको बताएका छन् । ‘अध्यक्ष चाँही मिटिङमा भएकाले कुरा भएको छैन,’ उनले भने ।

सुवेदी माओवादी उम्मेदवार भई काठमाडौं २ बाट विजयी भएका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई हराएपछि उनी चर्चित बनेका थिए ।

एमाले अध्यक्ष झलनाथ खनाललाई गत माघ ६ गते पार्टीको वैचारिक तथा संगठनात्मक सुदृढिकरण कार्यक्रममा भाग लिन इटहरी गएकाबेला एक कृषकले झापड हानेका थिए । खनाललाई झापड हान्ने सुनसरी भरौलका ५२ वर्षीय देवीप्रसाद रेग्मी अहिले पनि प्रशासनमा तारेख धाइरहेका छन् ।