रुकुम जिल्लाको दुर्गम क्षेत्रमा सडकलगायत पूर्वाधार पुगेपछि गाउँ छोडेर अन्यत्र गएकाहरू गाउँ फर्किएर विभिन्न व्यावसाय थालेका छन् ।
रुकुम जिल्लाका दुर्गम मानिने काक्रीको खाबाङबगर, धाउनेबजार, रुकुमकोट वरपरका बजारहरूमा मोटर पुगेपछि बसाइँ सरेकाहरू फर्किएका छन् । काक्रीबाट सात वर्षअघि सबै जग्गाजमिन बेचेर दाङको तुल्सीपुर झरेका स्थानीय पहलबहादुर बुढाले एक वर्षअघि आफैंले बेचेको जग्गा किनेर होटेल व्यवसाय थालेका छन् । ‘पहिले गाउँमा विकास नभएकाले सहरतिर बसाइँ सरें,’ सपरिवार गाउँ फर्किएका बुढाले भने, ‘गाउँमा सडक पुगेपछि यहीँ केही गरौं भनी फर्किएको हुँ ।’
उनले आफैंले सात वर्षअघि पचास हजार रुपैयाँ रोपनीमा जमिन बेचेका थिए । अहिले त्यही जग्गा चार लाख रुपैयाँ प्रतिरोपनीमा किनेको बताए। स्थानीय बासिन्दाले पेल्टि्रक सेटमार्फत गाउँमै बिजुली उत्पादन गरी एक सय दश घरलाई उज्यालो बनाएका छन् । गाउँका विद्यालयमा राम्रो पढाइ, स्वास्थ्य चौकी, खानेपानीलगायत सेवा पुगेपछि बुढाजस्तै 46 परिवार फेरि तराईबाट पहाड फर्केका खाबाङबगर बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बुढाले बताए ।



