मधेसी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यद्वारा गच्छदार तानाशाही भएको भन्दै पार्टी परित्याग

काठमाडौं – मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य उपेन्द्र झाले पदबाट राजीनामा दिई पार्टी परित्याग गरेका छन् ।

झाले फोरम अध्यक्ष विजयकुमार गच्छदारलाई दिएको राजीनामा पत्रमा भनिएको छ, ‘विभाजन यताका दुई वर्षमा पहिलाभन्दा पनि दोब्बर तानाशाह प्रवृत्ति पार्टीभित्र देखिएकाले राजीनामा दिएको हुँ ।’

मधेसीलाई धोका दिएर पार्टी स्थापना गर्न गच्छदार सफल रहेको आरोप लगाउँदै झाले मधेस आन्दोलनको मर्मविपरीत पार्टीलाई अघि बढाउँदा मधेसको हित नहुने भएकाले आन्दोलनकारी केन्द्रीय सदस्यहरू उकुसमुकुसको स्थितिमा रहेको दाबी गरेका छन् ।

‘यही उकुसमुकुसको स्थितिले पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ,’ उनले भनेका छन्, ‘पार्टीभित्र बसेर मधेसको मर्मविपरीत जाने नेताको मतियार बन्नुको कुनै औचित्य नभएकाले राजीनामा दिएको हुँ ।’

संगठन विभाग प्रमुख रहँदा पहिलो चरणअन्तर्गत डेढ वर्षअघि कपिलवस्तु, बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लामा झाले गरेको पार्टी संगठन विस्तारलाई गच्छदारले विघटन गरेका थिए ।