शान्ति मन्त्री वर्षमान पुनद्वारा गृह मन्त्री नपाएपछि आफ्नो पदबाट राजीनामा

काठमाडौ – शान्ति मन्त्री वर्षमान पुनले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् । गृह मन्त्रीका रुपमा चर्चामा आएका पुनले नपाएपछि राजीनामा दिएको स्रोतको दाबी छ ।

पुनले यसअघि नै गृह नपाए राजीनामा दिने चेतावनी अध्यक्ष पुष्पकमल दाहाललाई दिएका थिए । पुनको नाममा उपाध्यक्षमा मोहन वैद्यले असहमति जनाउँदै आएका थिए ।

पुनलाई गृहमन्त्री बनाउनेबारे प्रधानमन्त्री झलनाथ खनालको पनि असहमति रहेको स्रोतको दाबी छ । माओवादी सेनाका कमाण्डरसमेत रहेका पुनलाई गृहमन्त्री बनाए पार्टीको विरोध झन् चर्कने भएपछि खनालले पुर्नविचार गर्न दाहाललाई आग्रह गरेका थिए ।

माओवादीले गृहमन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ । वैद्य पक्षले जोड दिएका देव गुरुङ र पुनको नाम हटाएर महरालाई गृहमन्त्री बनाउने प्रस्ताव अर्का उपाध्यक्ष बाबुराम भट्टराईले गरेका थिए ।

तर शान्तिमन्त्री वर्षमान पुनले पार्टीको काम गर्न फिर्ता भएको दाबी गरे । ‘म तत्कालका लागिमात्र भनेर शान्ति मन्त्री भएको थिएँ,’ उनले भने, ‘गृहमन्त्रालय नपाएको असन्तुष्टि होइन ।’