काठमाडौँ – नेपाल पत्रकार महासंघमा ५५ वर्षसम्म रहेको प्रजातान्त्रिक वर्चश्वलाई तोड्दै यस पटक वामपन्थी नेतृत्व विजयी भएको छ। ३१ सदस्यीय कार्यसमितिमा एक पदाधिकारी र पाँच सदस्यबाहेक सबैमा एमाले-माओवादीको वाम गठबन्धनका उम्मेदवारको प्यानलले जित हात पारेको हो। अध्यक्ष पदमा वाम गठबन्धनका शिव गाउँले ६८५ मत ल्याउँदै निर्वाचित भए। उनका निकट प्रतिद्वन्द्वी कांग्रेससमर्थित प्रेस युनियनका उम्मेदवार पोषण केसीले ४ सय ४४ र प्रजातान्त्रिक धारबाट स्वतन्त्र उम्मेदवारी दिएका केदार कोइरालाले १ सय २२ मत ल्याए। एसोसिएटमा प्रकाश थापा र उज्ज्वल आचार्य विजयी भए। दुवैलाई युनियनले समर्थन गरेको थियो। मध्यपश्चिमाञ्चलमा वाम गठबन्धनका सूर्यमणि गौतम र प्रभात चलाउने विजयी भए। सुदूरपश्चिमाञ्चलबाट चौतारीका दिलबहादुर छत्याल र युनियनका कर्ण शाह निर्वाचित भए। महिलामा शान्त बस्नेत, दुर्गा भण्डारी र संगीता खड्का विजयी भए । बस्नेत र भण्डारीलाई चौतारी तथा खड्कालाई क्रान्तिकारीले समर्थन गरेको थियो। दलितमा युनियनका प्रकाशचन्द्र परियार र चौतारीका निशा विश्वकर्मा विजयी भए। जनजातिमा चौतारीका खिम घले र युनियनका दिलिप थापामगर विजयी भए। मधेसीमा युनियनका राजेश मिश्र र क्रान्तिकारीका धर्मेन्द्र कर्ण विजयी भए। – नागरिक
उपाध्यक्षमा वाम गठबन्धनका यसोदा तिम्सिनाले प्रेस युनियनका रमेश विष्टलाई ५४६ का विरुद्ध ६६७ मतले पराजित गरे। महासचिवमा वाम गठबन्धनका ओम शर्माले झिनो मतअन्तरले प्रेस युनियनका रामजी दाहाललाई पराजित गरे। शर्माले ६ सय ५ र युनियनका दाहालले ६ सय २ मत पाए। मतअन्तर झिनो भएकोले दुई पटक गणना गरिएको थियो।
सचिवमा प्रेस युनियनका जगत नेपालले ६ सय ३५ मतका साथ ५ सय १३ पाएका क्रान्तिकारीका चन्द्रमान श्रेष्ठलाई पराजित गरे। कोषाध्यक्षमा प्रेस चौतारीका शितल शाह निर्वाचित भए। शाहले ४ सय ९८ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी बृजकुमार यादवले ४ सय १४, उजिर मगरले २ सय ८० र गजेन्द्र बुढाथोकीले ६५ मत पाए।
प्रतिष्ठान शाखाबाट केन्द्रीय सदस्यमा प्रेस चौतारीका बालकृष्ण बस्नेत र मातृका पौडेल निर्वाचित भए। उपत्यकाबाट केन्द्रीय सदस्यमा वाम गठबन्धनका दीपक पाण्डे र दामोदर तिमिल्सिना निर्वाचित भए। मध्यमाञ्चलबाट केन्द्रीय सदस्यमा प्रेस चौतारीका प्रताप विष्ट र महेश दास विजयी भए। पूर्वाञ्चलमा पनि केन्द्रीय सदस्यमा प्रेस चौतारी कै मोहनकाजी न्यौपाने र सिद्धराज राई विजयी भए ।
पश्चिमाञ्चलबाट वाम गठबन्धनका मोहन चापागाईं र रुद्र भट्ट निर्वाचित भए। कर्णालीबाट प्रेस युनियन समर्थित जयबहादुर रोकाया निर्वाचित भए।



