थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य संचालन गर्ने घोषणा

काठमाडौ –  थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य संचालन गर्ने घोषणा गरेको छ ।

लक्ष्मण थारुले नेतृत्व गरेको परिषदले बिहीबार रिपोर्टर्स क्लब पत्रकार सम्मेलन गर्दै कुनै पनि हालतमा जेठ १४ गते संविधान जारी गर्नु पर्ने स्पष्ट धारणा राख्दै संविधानसभाको म्याद थप आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिएका छन्  ।

एमाले, माओवादी र फोरमबीच भएको सहमतिलाई राष्ट्रघाती सहमतिको संज्ञा दिदैं थारुले  आदीवासी थारुहरुलाई मधेसी बनाउने सो सम्झौता खारेज हुनु पर्ने माग गरे ।

परिषदले जेठ १४ गते अघिनै संविधान जारी गर्न दवाव सृजना गर्ने उद्देश्यले अगाामि बैशाख २७ गतेबाट दुई दिने थरुहट बन्द सहितको तीन साता लामो आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

घोषित आन्दोलनको कार्यक्रम अनुसार बैशाख २७ गते प्रचार प्रसार र वालपेन्टिङ्ग गर्ने, २८ गते मसाल जुलुस निकाल्ने, वैशाख २९ र ३० गते थरुहट बन्द गर्ने , जेठ ५ देखी १४ गतेसम्म कैलाली, कन्चनपुर, बर्दिया, बाँके, दाङ्ग, नवलपरासी, सिराहा, सप्तरी, उदयपुर, सुनसरी र चितवनामा थरुहट सेनालाई तालिम दिने जनाएको छ । यस्तै मजदुर, महिला, विद्यार्थी, किसान, ब्यापारी र कर्मचारको भेला गर्ने लगायतका कार्यक्रम रहेको छ ।

जेठ १४ मा कुनै पनि हालतमा संविधान जारी हुनै पर्ने भन्दै  अध्यक्ष थारुले त्यसो नभएर थरुहट प्रदेशमा छुट्टै राज्य सन्चालन गर्ने त्यसक्षेत्रबाट राज्यले उठाउने कर प्रदेशमै उठाई त्यसलाई परिचालन गर्ने समेत स्पष्ट पारे ।