काठमाडौं – एकीकृत नेकपा माओवादी महिला नेतृहरुले सरकारमा महिला संख्या न्यून रहेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । उनीहरुले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै निर्णय सच्याउन आग्रह गरेका छन् ।
‘माओवादीको समर्थन र सहभागितामा बनेको वर्तमान सरकार पूर्णतातिर जाँदै गर्दा महिलाको न्यून वा उपेक्षित सहभागिता देख्दा हामीलाई चिन्तित बनाएको छ,’ विज्ञप्तीमा भनिएको छ । क्रान्ति निर्णायक विजयमा नपुग्दै गरिएको यस प्रकारको निर्णयले भावी क्रान्तिमा महिलाको भूमिका र क्रान्तिपछिको महिलाको स्थितिबारे आशंका पैदा गरेको विज्ञप्तीमा लेखिएको छ ।
महिला नेतृहरु पम्फा भूसाल, हिसिला यमी, जयपुरी घर्ती, शशी श्रेष्ठ, यशोदा सुवेदी, अमृता थापा, सरला रेग्मी, रेखा शर्मा, उमा भूजेल र सविना अर्यालले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा मन्त्रिपरिषद्सहित संवैधानिक निकाय र राजनीतिक नियुक्तिमा संविधानसम्मत निर्णय गर्न पनि माग गरिएको छ ।
माओवादीले वर्तमान सरकारमा एक मन्त्री र दुई राज्यमन्त्री महिलालाई बनाएको छ । महिला संख्या कम भएको भन्दै महिला तथा बालबालिका मन्त्री जयपुरी घर्तीले शपथ लिइनन् ।
यसैबीच सेती महाकालीका माओवादी नेताहरुले पनि आफ्नो क्षेत्रलाई उपेक्षा गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । लेखराज भट्ट, खगराज भट्टलगायत नेताहरुले माओवादीले नै भौगोलिक रुपमा उपेक्षा गरे अरु कसले गर्छ भनी प्रश्न उठाएका छन् ।



