दाहाल र वैद्यबीच बिहीबार भएको छलफलमा वैद्यले कडा आपत्ति जनाएको स्रोतले बताएको छ । उनले देव गुरुङलाई सूचना तथा सञ्चारमन्त्रीसहित अन्य दुई मन्त्रालय मिलाउन आग्रह गरेका थिए । बुधबार पोलिटब्युरो सदस्य अग्नि सापकोटा सञ्चारमन्त्री नियुक्त भइसकेका छन् । वैद्य पक्षले पर्यटन, उद्योग र महिला मन्त्रालय पाएका छन् ।
दाहालले मन्त्रालय बाँडफाँड भइसकेकाले त्यसलाई मिलाउनुभन्दा अन्य निकास खोज्नुपर्ने बताएका थिए । उनले मन्त्रालय हेरफेर गर्दा अर्को समस्या उत्पन्न हुने जनाएका थिए ।
उद्योगमन्त्रीको शपथ लिन अस्वीकार गरेका वैद्य पक्षका नेता महेन्द्र पासवानले सहमतिअनुसार मन्त्रालय बाँडफाँड नगरे पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मालाई फिर्ता बोलाउन सक्ने बताए । ‘सहमतिअनुसार मन्त्रालयमा कुरा मिलेन भने पर्यटनमन्त्री फिर्ता बोलाउने हुन सक्छ,’ उनले भने ।
मन्त्रालय बाँडफाँडबारे दाहालले आफ्नो पक्षका नेतालाई बढी मन्त्रालय दिएको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ । तर उनी पक्षका कानुनमन्त्री प्रभु साह र भौतिक योजना राज्यमन्त्री देवी खड्काले बुधबार शपथ लिइसकेका छन् । उनीहरू यो मुद्दालाई थप चर्काउने पक्षमा नभएको स्रोतले जनाएको छ ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले पाएका मन्त्री थप्दा झन् समस्या उत्पन्न हुने बताए । ‘थप एक मन्त्री थप्दा मन्त्रालय पुग्दैन,’ उनले भने, ‘समस्या समाधान गर्न छलफल गरौं भन्ने कुरा भएको छ ।’ हाल सापकोटाले पाएको सञ्चार मन्त्रालय स्थायी समिति सदस्य देव गुरुङलाई दिँदा अर्को गृहमन्त्रीको विवाद चर्किएपछि स्थायी समिति सदस्य वर्षमान पुन सरकारबाट फिर्ता भइसकेका छन् । ‘गृहमन्त्री को हुने विवाद भएपछि सल्लाहमै फिर्ता भएको हुँ,’ उनले भने ।
महिला नेतृहरूद्वारा ३३ प्रतिशत माग यसैबीच माओवादी महिला नेतृहरूले सरकारमा महिला संख्या न्यून रहेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन आग्रह गरेका छन् ।
‘माओवादीको समर्थन र सहभागितामा बनेको वर्तमान सरकार पूर्णतातिर जाँदै गर्दा महिलाको न्यून वा उपेक्षति सहभागिता देख्दा हामीलाई चिन्तित बनाएको छ,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्रान्ति निर्णायक विजयमा नपुग्दै गरिएको यस प्रकारको निर्णयले भावी क्रान्तिमा महिलाको भूमिका र क्रान्तिपछिको महिलाको स्थितिबारे आशंका पैदा गरेको विज्ञप्तिमा उल्लेख छ । महिला नेतृहरू पम्फा भुसाल, हिसिला यमी, जयपुरी घर्ती, शशि श्रेष्ठ, यशोदा सुवेदी, अमृता थापा, सरला रेग्मी, रेखा शर्मा, उमा भुजेल र सविना अर्यालले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्सहित संवैधानिक निकाय र राजनीतिक नियुक्तिमा संविधानसम्मत निर्णय गर्न पनि माग गरिएको छ ।
माओवादीले वर्तमान सरकारमा एक मन्त्री र दुई राज्यमन्त्री महिलालाई बनाएको छ । महिला संख्या ३३ प्रतिशत नभएको भन्दै महिला तथा बालबालिका मन्त्री जयपुरी घर्तीले शपथ लिइनन् ।
सेती-महाकालीका माओवादी नेताहरूले पनि आफ्नो क्षेत्रलाई उपेक्षा गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । लेखराज भट्ट, खगराज भट्टलगायत नेताहरूले माओवादीले नै भौगोलिक रूपमा उपेक्षा
गरे अरू कसले गर्छ भनी प्रश्न उठाएका छन् ।
सेती-महाकालीका माओवादी नेताहरूले पनि आफ्नो क्षेत्रका मन्त्री नबनाइएकोमा नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरूले सेती-महाकालीलाई उपेक्षा गरिएको बताए ।
‘सरकार विस्तारका क्रममा सेती-महाकालीलाई उपेक्षा गरियो,’ केन्द्रीय सदस्य खगराज भट्टले भने, ‘त्यस क्षेत्रका नेताहरूको तर्फबाट सरकार विस्तारप्रति गम्भीर असहमति छ । माओवादीले नै सुदूरपश्चिमलाई उपेक्षा गरेकाले त्यसको चौघेरामा बसिरहनु जरुरी छैन ।’



