नेपालगन्ज – नेपालगन्जमा शनिवार बिहान नेकपा माले (समाजवादी)की सभासद् शारदा नेपालीले मदिराले मातेर अनेक चर्तिकला देखाएकी छन् । गृहजिल्ला बर्दियाबाट काठमाडौं जान शुक्रवार आएकी उनी पुष्पलाल चोकस्थित न्यू नेपाल गेष्टहाउसमा श्रीमानसँगै बास बसेकी थिइन । तर, बिहानै आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै मदिराले मातेर सडकमा निस्केपछि दिनभर चर्चाकी पात्र बनिन् ।
नसामा बेहोसी हालतमा बिहान सात बजेतिर चोकमा निस्केकी उनले सुरक्षा माग्दै प्रहरी गुहारेकी थिइन् । नसाको तालमा कुनै बेला सडकका रिक्सामा चढ्ने र र्झने गरिरहेकी थिइन । सभासद् नेपालीले प्रहरी ब्यायामशालाको गेटमा पुगेर प्रहरीसँग सुरक्षा र अंगरक्षक मागेकी थिइन् । व्यायामशालाका प्रहरीले जिल्ला प्रहरीलाई खबर गरेका थिए ।
बोली लर्बराएको र मोबाइलमा नम्बर डायल गर्न समेत नसक्ने अवस्थामा सभासद् नेपालीलाई देख्दा सर्वसाधारणले सिंगो संविधानसभाकै अपमान भएको टिप्पणी गरेका थिए । कतिपयले ६ सय १ जना सभासद्कै आलोचना गर्दै ती सबै हाँसोका पात्र बनेको समेत बताए ।
‘चिन्नु भएन् । म बर्दियाकी सभासद हुँ । त्यहाँ प्रहरीले मलाई सम्मान दिन्थ्यो । सुरक्षा दिन्थ्यो । तर, यहाँ त्यो पाइन्’ एक प्रत्येक्षदर्शीले उनको भनाई उद्धृत गर्दै पछि रिक्सा चढेर बजारतिर लागिन् ।
झण्डै दुई घण्टाको अनेक चर्तिकलापछि उनलाई प्रहरीले सम्हालेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सभासद् नेपालीलाई उनी जानुपर्ने ठाउँमा सुरक्षित पुर्याउन प्रहरीलाई निर्देशन दिएका थिए ।
केही महिनाअघि शृंखलाबद्ध प्रधानमन्त्री निर्वाचनका बेला पनि उनले बिष सेवनपछि उपचारार्थ अस्पताल पुर्याएर बचाइएको थियो ।



