दाङ – शान्ति र संविधानका लागि आवश्यकताअनुसार नेपाली कङ्ग्रेस हतियार उठाउन पनि तयार रहेको नेपाली कङ्ग्रेसका प्रभावशाली नेता तथा पूर्व गृह मन्त्री खुमबहादुर खड्काले बताएका छन्। उनले अहिले देखिएको गृह मन्त्रालयको विवादले सरकार ढल्ने नत्र एमाले फुट्ने भविष्यवाणी पनि गरे।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले शनिबार गरेको साक्षात्कारमा बोल्दै खड्काले नेपालमा कसैले पनि कङ्ग्रेसलाई एक्लाएर सर्वसत्तावाद लाद्न खोजे त्यो दिवा सपनामात्र हुने चेतावनी पनि दिए।
खडकाले माओवादीले चाहे जेठ १४ अघि नै शान्ति प्रक्रिया टुङि्गने दाबी पनि गरे। संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन माओवादी अध्यक्ष दाहाल इमानदार भए समयमै सम्पन्न गर्न सकिने ठोकुवा पनि उनले गरे।
उनले यदि जेठ १४ गतेसम्म संविधान निर्माणको निश्चित खाका आए केही महिनाका लागि संविधानसभाको म्याद थप्न सकिनेसमेत बताए।
अर्को एक प्रसङ्गमा पूर्व गृह मन्त्रीसमेत रहेका खड्काले माओवादीले भनेजस्तो प्रहरी प्रशासन उनीहरुको पछि नलाग्ने दाबी पनि गरे।
आफनै पार्टीको निर्णय विपरित प्रधान मन्त्री झलनाथ खनालले माओवदीलाई गृह मन्त्रालय दिनु गलत भएको बताउदै यसैका कारण जेठ १४ अघि नै यो सरकार ढल्ने सम्भावना रहेकोसमेत उनले बताए।
उनले भने- गृह मन्त्रालय माओवादीलाई दिएका कारण कि प्रधान मन्त्रीले राजिनामा दिनुहुन्छ या एमाले फुट्छ।