महेन्द्रनगर – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले जेठ १४ भित्रै संविधान बन्न नसके विश्वासिलो आधार विना म्याद थप गर्न नहुने बताएका छन् । उनीहरुले फेरी पनि तीन दलले मनोमानी ढंगले म्याद थप्ने काम गरे मधेशवादी दल आन्दोलनमा उत्रने चेतावनी दिए ।
आइतवार यहाँ रिपोर्टस क्लवको सुदूर पश्चिम समितिले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मोर्चाको एक घटक सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले संविधान बन्ने भरपर्दो आधार विना म्याद थप्ने काम भएमा सम्विधानसभाबाट समेत बाहिरिन सक्ने चेतावनी दिएका हुन् ।
‘जेठ १४ भित्रै शान्ति प्रकृया पुरा गरि संविधान निर्माण हुनुपर्छ, हुन नसके विश्वासिलो आधार विना म्याद थप गर्ने कार्य मोर्चालाइ स्वीकार्य हुनेछैन’ उनले भने ।
उनले यो अवस्था नआओस भन्ने कामना गरिरहेको उल्लेख गर्दै निर्धारित समयमा संविधान नवन्नुमा तीन मुख्य दल जिम्मेवार रहेको आरोप लगाए । ‘दुई बर्षमा बन्नु पर्ने संविधान १ बर्ष म्याद थपेर पनि बन्न सकेन, फेरी पनि भरपर्दो आधार विना म्याद थप्नु भनेको जनतालाइ धोखा दिनु हो’ उनले भने ।
मोर्चाका संयोजक मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले पनि महतोले बोलेका विचारसंग सहमति व्यक्त गर्दै शान्ति प्रकृया टुंगोमा पुर्याएर संविधान निर्माणको भरपर्दो आधार विना म्याद थप्नुको अर्थ नरहने बताए ।
उनले तीन प्रमुख दलले शान्ति प्रकृया टुंगोमा पुर्याइ संविधान निर्माण गर्ने निश्चित नगरी म्याद थप गरे मधेशी मोर्चा संविधानसभाबाट बाहिरिने अवस्थासम्म आइपुग्ने चेतावनी दिए । त्यो अवस्थामा आफुहरु जनताका बिच जाने उनको भनाइ थियो । उनले मधेशी मोर्चाको जेठ पहिलो साता बस्ने बैठकले संविधानसभाको म्याद थप गर्ने/नगर्ने र त्यसपछिको अवस्थामा के गर्ने भन्ने बारे निर्णय गर्ने जानकारी दिए । उनले तीन दलले मध्यरातमा म्याद थप गर्नु भन्दा संविधान बन्ने आधार तयार गरि जनतालाइ जानकारी दिनुपर्ने सुझाव दिए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यउक्ष महन्त ठाकुरले हालसम्म प्रकृयागत रुपमा संविधान लेख्ने काम नै नभएको अवस्थामा जेठ १४ मा संविधान निर्माण हुन नसक्ने ठोकुवा गरे । जेठ १४ मा संविधान नवन्ने कुरामा तीनै नेताहरुको एकै प्रकारको धारणा थियो ।
शनिवार कञ्चनपुरको दक्षिणी भेगमा पर्ने बेलौरी सिमा बजारमा मोर्चाद्वारा अयोजित जनसभामा सहभागी हुन महतो, गच्छदार र ठाकुर कञ्चनपुर पुगेका हुन् ।



