काठमाडौ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीका लागि नेता चयनमा समानुपातिक र समावेशी तरिकाले फेरबदल नगरेसम्म उपाध्यक्ष वैद्य पक्षका नवनियुक्त मन्त्रीले शपथ नलिने भएका छन् । दाहालले वैद्यसँग भएको सहमति कार्यान्वयन नभएसम्म शपथ नलिने अडान जारी राखेका छन् ।
‘मन्त्री चयन प्रक्रिया नसच्याएसम्म शपथ लिने कुरा हुँदैन,’ वैद्य पक्षीय स्थायी समिति सदस्य देव गुरुङले भने, ‘पार्टीको सिद्धान्त सबैले कार्यान्वयन गर्नुपर्छ ।’ दाहाल पक्षका नेताहरूले भने वैद्य पक्षको अडान ‘निहुँ खोज्ने’ बहानामात्र भएको बताए ।
‘जनविद्रोहमा जानुपर्छ भन्ने साथीहरूले मन्त्रीका लागि झगडा गर्नु कति जायज हो ?’ दाहाल पक्षका एक नेताले भने, ‘यो निहुँ खोज्ने बहानामात्र हो ।’ मन्त्री बाँडफाँडको विवादले माओवादीको शान्ति र संविधान प्रक्रियासमेत प्रभावित हुने भएको छ । मन्त्रालय बाँडफाँडका विवाद भएदेखि उक्त प्रक्रिया अघि बढ्न सकेको छैन । संविधानसभा निर्वाचनमा हारेका व्यक्तिलाई दाहालले मन्त्रीमा चयन गर्दा जनादेशको उल्लंघन भएको गुरुङले बताए । ‘निर्वाचनमा हारेका व्यक्तिलाई मन्त्रीमा पठाउन हुन्न भन्ने कुरा उठेको छ,’ उनले भने, ‘यसले जनादेशको घोर उल्लंघन हुन्छ ।’ उनले सहमतिकालाई अध्यक्ष दाहालले कार्यान्वयन नगरेसम्म उद्योगमन्त्री महेन्द्र पासवान, महिलामन्त्री जयपुरी घर्ती र राज्यमन्त्री ध्रुव लिम्बूले शपथ नलिने बताए । ‘सहमति व्यवहारमा कार्यान्वयन भएपछि शपथको काम हुन्छ,’ उनले भने, ‘अहिलेसम्म केही भएको छैन ।’ दाहालले मन्त्री बाँडफाँडको विवाद मिलाउने प्रतिबद्धता जनाइसकेका छन् ।
प्रधानमन्त्री झलनाथ खनाल एक साता लामो टर्की भ्रमणमा भएकाले पार्टीभित्र सहमति भए पनि माओवादी मन्त्रीले शपथ लिन ढिलै हुनेछ ।
उद्योगमन्त्री नियुक्त पासवानले सहमति कार्यान्वयन नभएसम्म आफूले शपथ नलिने बताए । ‘किरण (वैद्य) सँग भएको सहमति कार्यान्वयन नभएसम्म हामी शपथ लिन्नौं,’ उनले भने, ‘बरु सरकारमा गएकालाई पनि फिर्ता बोलाउने कुरा हुन्छ ।’ उनले आफूसँग पराजित विश्वनाथ साहलाई शान्तिमन्त्री बनाएकोमा आपत्ति जनाए । ‘चुनावमा हारेका र द्वन्द्वको अनुभव नभएका व्यक्तिलाई शान्तिमन्त्री बनाइएको छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिले शान्ति प्रक्रियासम्बन्धी काम गर्न सक्दैन ।’
महिलामन्त्री नियुक्त घर्तीले सरकारमा गएका पुरुष मन्त्रीहरू फिर्ता गरी ३३ प्रतिशत नपुर्याएसम्म शपथ नलिने बताइन् । ‘सरकारमा सहभागी भएका पुरुष मन्त्रीहरू फिर्ता गरी ३३ प्रतिशत महिला नपुर्याएसम्म म शपथ लिन्नँ,’ उनले भनिन्, ‘संविधानले व्यवस्था गरेको कुरा पार्टी र सरकारले लागू गर्नुपर्यो ।’
उनले माओवादी अध्यक्ष दाहालसँगको छलफलमा निकास निकाल्ने प्रतिबद्धता जनाएको बताइन् । गत बुधबार पार्टीले ३३ प्रतिशत महिला सहभागी नगराएको भन्दै शपथ बहिष्कार गरेकी थिइन् ।



