सभासदहरुबाट कुटनीतिक राहदानी दुरुपयोग भएकोबारे अनुसन्धान गर्न मधेसी जनअधिकार फोरमद्वारा संयुक्त छानबिन समिति माग

काठमाडौं –  सभासदहरुबाट कुटनीतिक राहदानी दुरुपयोग भएकोबारे अनुसन्धान गर्न मधेसी जनअधिकार फोरमले संयुक्त संसदीय छानबिन समिति माग गरेको छ ।

कुटनीतिक राहदानी दुरुपयोग गरेकोबारे आफ्ना चार सभासद्माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि आकस्मिक बसेको फोरम संसदीय दलको बैठकले पासपोर्ट दुरुपयोग आरोप गम्भीर विषय भएकाले संयुक्त संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

संसदीय छानबिनको माग गर्दै फोरमले मंगलबार सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाउने फोरम सहअध्यक्ष जेपी गुप्ताले जानकारी दिए । फोरम संसदीय दलका नेतासमेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री उपेन्द्र यादव भने अहिले अतिकम विकसित मुलुकहरुको चौथो सम्मेलनमा भाग लिन टर्कीको इस्तानबुल पुगेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक उदेश्य प्रेरित भइ आफ्ना महासचिवसमेतलाई राहदानी दुरुपयोग गरेको आरोपमा अनुसन्धानको दायरामा ल्याउन खोजेको फोरमले आरोप लगाएको छ । फोरम बैठकले आयोगको पछिल्लो गतिविधिले उसको निष्पक्षतामाथि नै आशंका उब्जिएको निष्कर्ष निकालेको गुप्ताले जानकारी दिए ।

कुटनीतिक राहदानी दुरुपयोग अभियोगमा फोरमका विपी यादव र जनता दलकी गायत्री शाह हिरासतमा रहेकैबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोरमका ४ सहित ६ सभासदको कुटनीतिक राहदानी उपलब्ध गराउन संसद् सचिवालयसँग माग गरेको छ । अख्तियारले राहदानी दुरुपयोग आशंकामा फोरम महासचिव रामसहायप्रसाद यादवसहित ल्मा खातुन मिकरानी, रम्भा देवी, शिवपुजनराय यादव, फोरम लोकतान्त्रिककी करिमा बेगम र मधेस क्रान्ति फोरमका सञ्जय शाहमाथि छानबिन सुरु गरेको छ ।