काठमाडौं – संविधान सभाको म्याद सकिनु अगावै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने उल्लेख गर्दै त्यसका लागि प्रधानमन्त्री झलनाथ खनालले पद छोड्नुपर्ने एमाले स्थायी समिति सदस्य केपी ओलीले बताएका छन् ।
प्रेस चौतारीले राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता ओलीले प्रधानमन्त्री खनाल राष्ट्रिय सहमतिको बाधक भएको धारणा राखे । ‘राष्ट्रिय सहमतिका लागि कुर्सी खाली गरेर, राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्छ’ उनले भने, ‘एउटा व्यक्तिलाई हेरेर देश जहाँ गए पनि जाओस् भन्न सकिदैन ।’
ओलीले खनालको कार्यशैलीप्रति बीब्र असन्तुष्टी जनाउँदै प्रधानमन्त्री खनालले राष्ट्रिय सहमति भाँडेको बताए । ‘२२ दलको सरकार भाँडेर अहिले ३ दलको सरकार बनाइएको छ’ नेता ओलीले भने, ‘राष्ट्रिय सहमतिका लागि भनेरे जानेले नक्सा झुन्डाउने बाहेक के काम गर्नु भयो र ?’
ओलीले पार्टी निर्णय विपरीत गृहमन्त्रालय दिएको बिषयमा आपत्ति जनाउँदै यो बिषयमा हिसाबकिताब गरिने बताए । ‘प्रधानमन्त्रीको हैसियतमा गृहमन्त्रालय दिएको बिषयलाई पार्टीले कारबाही गर्न सक्दैन’ ओलीले भने, ‘तर एउटा एमालेको कार्यकर्ताले (अध्यक्ष पनि कार्यकर्ता नै हुन्) पार्टीका नीति उलंघन गरेर अघि बढेकोमा भने कारवाही हुन्छ ।’



