नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच व्यापार सहजीकरण कमिटीको दोस्रो बैठक काठमाडौंमा सुरु

काठमाडौं – नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच व्यापार सहजीकरण कमिटीको दोस्रो बैठक काठमाडौंमा सुरु भयो। दुई दिनसम्म सञ्चालन हुने बैठकमा नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली र चिनिया टोलीको नेतृत्व चीनको स्वशासित क्षेत्र तिब्बतका उपमहासचिव ये यिन्चुआनले गरेका छन्।


आजै चिनिया टोलीले उपप्रधानमन्त्री तथा वाणिज्य, आपूर्ति एवम् अर्थमन्त्री भरतमोहन अधिकारीसँग अर्थ मन्त्रालयमा भेट गर्‍यो।


उक्त टोलीलाई स्वागत गर्दै उपप्रधानमन्त्री अधिकारीले दुई मुलुकबीच रहेको सामाजिक, आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुई मुलुकबीचको व्यापारलाई अझ सुदृढ गर्ने वचनबद्धता व्यक्त गरे।


चिनिया पक्षको नेतृत्व गर्नुभएका चीनको स्वशासित क्षेत्र तिब्बतका उपमहासचिव यिन्चुआनले तिब्बतमा भएको व्यापार तथा आर्थिक विकासबारे उपप्रधानमन्त्री अधिकारीलाई अवगत गराउनुभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
-रासस