पर्वत – अविरल बर्षासंगै पर्वतको पाङराङ्ग गाविसमा सोमवार राति परेको असिना पानीले तरकारी बालीमा क्षति पुर्याएको छ ।
लगातार परेको असिना पानीले वडा नम्बर २,३ र ५,६ मा किसानले लगाएको मकै र तरकारीमा क्षति पुगेको हो । ५ र ६ मा व्यावसायिक रुपमा लगाईएको काँक्रो र गोलभेँडामा असिनाले सबै भन्दा बढी क्षति पुर्याएको पिडित किसान विश्वनाथ उप्रेतीले बताए ।
उनका अनुसार चार बर्षपछि परेको यति ठूलो असिना पानीले ५० लाख रुपैंया भन्दा बढीको तरकारीबाली नष्ट गरेको हो । व्यावसायिक रुपमा बेमौसी काँक्रा र गोलभेंडा फलाएर बाषिर्क लाखौं रुपैंया आम्दानी गर्दै आएका उक्त गाविसका किसान खेतवारीमा लगाएको आधा तरकारीबाली असिना पानीले नष्ट गरेपछि चिन्तित बनेका छन् ।
पाङराङ्गमा उत्पादन भएको काँक्रा,गोलभेँडाको बीउ समेत देशका विभिन्न शहरमा बिकि्र हुदै आएको छ । त्यस्तै वडा नम्बर २ र ३ मा भने असिनाले मकैवाली नष्ट गरेको पीडित किसानले बताएका छन ।