सिरहा – माओवादी कार्यकर्ताहरुले मन्त्री भएपछि पहिलोपटक जिल्ला आएका शान्ति तथा पुननिर्माण मन्त्री विश्वनाथ शाहका लागि पुरानो गाडी ल्याएको भन्दै चालकलाई अभद्र व्यवहार गरेका छन् ।
माओवादीले चालकलाई अभद्र व्यवहारमात्र गरेनन्, मन्त्री पनि प्रमुख जिल्ला अधिकारीले पठाएको गाडी चढेनन् । प्रमुख जिल्ला अधिकारी वीरेन्द्र बहादुर बानियाँले मन्त्रीलाई लिन जनकपुर एयरपोर्टमा जिल्ला विकास समितिको गाडी पठाएका थिए । तर थोत्रो गाडि भन्दै उनले जनकपुरबाट एउटा निजी सवारी भाडामा लिएर सिरहा आए ।
माओवादी कार्यकर्ताहरुले थोत्रो गाडी पठाएको भन्दै जलाइदिने धम्कि दिएका थिए । ‘माओवादी कार्यकर्ताहरुले ‘यस्तो थोत्रो गाडी लिएर आएको’ भन्दै गाली गरे,’ चालक राजवंशी यादवले भने, ‘उनीहरुले गाडी पनि जलाइदिने भन्दै धम्क्याए ।’
मन्त्री साहले गाडी नचढेपछि आफूले खाली गाडी लिएर फर्किएकाले उनलेब ताए । ‘जनकपुर जान आउन ३० लिटर तेल पनि खर्च भयो,गाली पनि खानु पर्यो,’ चालकले ई-कान्तिपुरसित मंगलबार साँझ भने ।
मन्त्रीसँगै आएका माओवादीका केन्द्रीय सदस्य रामरिझन यादवले ‘पुरानो गाडी हेरेर कार्यकर्ताहरुले त्यत्तिकै बोलेको’ दाबी गरे । ‘माओवादी कार्यकर्ता न हो अलिकति त भइहाल्छ नि’ उनले भने । प्रजिअ बानियाँले चालकले आफूलाई केही जानकारी नगराएको र आफूसँग भएको गाडी नै पठाएको बताए ।



