काठमाडौं – एकीकृत नेकपा माओवादी लडाकुको समायोजन र पुर्नस्थापनाको मोडालिटीबारेमा मंगलबार माओवादी र कांग्रेसबीच बार्ता भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासहति विशेष समितिका सदस्य रामशरण महत र मिनेन्द्र रिजालबीच बार्ता गरेका थिए ।
बार्तामा माओवादी अध्यक्ष दाहालले समायोजनमा समूहगत प्रवेशलाई मान्य आग्रह गरेका थिए । तर, कांग्रेसले अनमिनको रोहबरमा भएको सहमती अनुसार स्थापित मापदण्ड पुरा गरेका लडाकु मात्रै समायोजनमा लान सकिने बताएको थियो ।
कांग्रेसले जेठ १४ अघिनै समायोजन हुने लडाकुको संख्या छुट्टाएर हतियार राज्यलाई बुझाउनु पर्ने प्रस्ताव राखेका थिए । ‘उहाँहरुले समूहगत रुपमा समायोजन स्विकारेर जाउ भन्नुभयो, हामीले त्यसलाई इन्कार गर्यौं’ सहभागी एक सदस्यले भने-‘फेरि गृहकार्य गरी बस्यौ भनेर अध्यक्ष दाहालले भन्नुभयो । कुनै सहमती हुन सकेन ।’ दुई दलका नेताहरु बीच खनाल नेतृत्वको सरकारको विकल्प खोज्नेबारे पनि छलफल भएको थियो ।
कांग्रेसले शान्तिप्रकृया र संविधान निर्माणमा एक कदम अघि बढन नसक्ने सरकार राख्नुको औचित्व नरहेको बताएको थियो । माओवादीले भने प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टी जनाएका ती सदस्यले बताए ।