नेपालगन्ज – एकीकृत नेकपा माओवादीले जिम्मेवार भूमिका निर्वाह गरे जेठ १४ गतेभित्रै शान्ति प्रक्रिया टुंगो लाग्ने र लोकतान्त्रिक संविधान जारी हुनसक्ने नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बताएका छन् ।
एकीकृत माओवादी लडाकु र हतियारको समस्या समाधान नहुँदासम्म भने संविधान बन्न र सुरक्षित हुन नसक्ने उनले बताए । गृहनगर नेपालगन्जमा आज विहान प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति कोईरालाले भने,- माओवादी जिम्मेवार बन्ने हो भने १५ दिनभित्र शान्ति प्रक्रिया पूरा भई संविधान आउनसक्छ ।
माओवादी नै शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधानको बाधक रहेकाले तोकिएको समयभित्र पनि संविधान बन्न नसकेको उनको दाबी छ ।
सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औल्याउँदै त्यसका लागि प्रयास भईरहेको पनि बताए । प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानमा अर्जन दृष्टि रहेको दाबी गरे पनि व्यवहारमा त्यस्तो नपाइएको उनले बताए । खनाल सरकार असफल भईसकेको दाबी गर्दै कोइरालाले भने,- जेठ १४ गते अगावै सहमतिमा नपुगे भयावह स्थिती देखेको छु । संविधानसभाको म्याद कहिलेसम्म थपिरहने ?
सरकारमा पुग्नु कांग्रेसको प्रथमिकतामा नरहेको उल्लेख गर्दै कोइरालाले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने, लोकतान्त्रिक संविधान जारी गर्ने र निर्वाचनमा जाने योजनामा रहेको उनले बताए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र खनालबीच भएको ७ बुँदे गोप्य सम्झौता र अपवित्र गठबन्धनले सहमतिको वातावरण बिगारेको उनको भनाई छ ।



