– दिलीप पौडेल
बाग्लुङ – धौलागिरी अञ्चलका बागलुङ, म्याग्दी र पर्वत जिल्लामा क्षेत्री समाजले बुधबार आब्हान गरेको पश्चिमाञ्चल बन्दको कार्यक्रमले जनजीवन प्रभावित बनेको छ।
बन्दका कारण यहाँ सवारी साधन, कलकारखाना, शैक्षिक संस्था ठप्प छन्। लामो तथा छोटो दुरीमा चल्ने सावारी साधन चल्न नसक्दा यात्रुहरु हिँडेर गन्तव्य तर्फ लागेका छन् भने लामो दुरीको यात्रा तय गर्न आएका यात्रु अलपत्र छन्। गण्डकी र लुम्विनीमापनि बन्दको प्रभाव परेको बताइएको छ।
बन्दकर्ताहरुले विहानैदेखि बजारका चोकचोकमा नाराबाजी गर्दै अबरोध सृजना गरेका छन्। बन्दका क्रममा बिबाहका गाडी, परिक्षा, एम्बुलेन्स र प्रेसका गाडीलाई भने अबरोध नगरिने क्षेत्री समाजले जनाएको छ। कुटनीतिक नियोगका गाडीलाई भने चल्न नदिने क्षेत्री समाजले जनाएको छ।
जातीय आधारमा संघियता हुन नहुने, क्षेत्रीलाई आदिबासीको सुचीमा समाबेश गरिनुपर्ने, संबिधान निर्माण कार्य थप गरिएकै समयाबधीमा हुनुपर्ने लगायतका माग सहित क्षेत्री समाजले बिभिन्न क्षेत्र बन्द गर्ने र आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ। बन्द सफल पार्न क्षेत्री समाजले मंगलवार पर्वत, बागलुङ, म्याग्दीमा मंगलवार साँझ सदरमुकामममा मसाल जुलुस प्रर्दशन गरेका थिए।