संविधानसभाको म्याद थप्नुभन्दा सभासद्हरुले राजीनामा दिनु नै उपयुक्त विकल्प रहेको माओवादी अमिक शेरचनको धारणा

– तिलक मल्ल
      

टोकियो, जापान  – 
संविधानसभाको म्याद थप्नुभन्दा सभासद्हरुले राजीनामा दिनु नै उपयुक्त विकल्प रहेको
एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य अमिक शेरचनले बताएका छन् ।

माओवादीले अन्तिम समयसम्म संविधानसभाबाटै संविधान बनाउने बताइरहेकाबेला सोही
पार्टीका बरिष्ठ नेता शेरचनको यस्तो धारणा सार्वजनिक भएको हो । ‘पटक पटक म्याद थपेर
भत्ता खाने ठग बन्नु भन्दा सभासदहरुले राजीनामा दिनु उपयुक्त हुन्छ,’ उनले भने ।

नेपाली जनप्रगतिशील मोर्चा जापानको संयोजनमा भएको अन्तर्क्रियामा नेता शेरचनाले
यद्यपि आफू बाँकी दिनमै भए पनि संविधान बन्नेमा ढुक्क रहेको उल्लेख गरे । ‘संविधान
निर्माणका अधिकांश कामहरु पूरा भइसकेका छन्,’ उनले भने, ‘बाँकी बुँदाहरुमा सहमति
कायम हुने हो भने जेठ १४ भित्र संविधान घोषणा सम्भव छ ।’

संविधान नबनेको आक्रोश जनताका चुलिएको बताउँदै उनले आक्रोश बिद्रोहमा परिणत हुन
सक्नेतर्फ सचेत रहनुपर्ने बताए । ‘विद्रोहले जुनसुकै रुप पनि लिन सक्छ,’ उनले भने ।
संविधान बन्न नसके नेपाल असफल राष्ट्र बन्ने चेतावनी दिँदै उनले भने, ‘असफल राष्ट्र
भयो भने जे पनि हुन सक्छ ।’ नेता शेरचनले कुनै पनि दललाई स्पष्ट बहुमत नआएकै कारण
संविधान बन्न कठिनाइ भएको बताए ।

नेता शेरचनले नेपाल र भारतबिचको खुल्ला सीमा नीति नेपालका लागि प्रत्युत्पादक
रहेको बताउँदै भारतसँगको खुल्ला सीमा बन्द गर्नुपर्नेमा जोड दिए । ‘सीमा क्षेत्रमा
१०० मीटरको दुरीमा चेकपोष्ट निर्माण गरी सीमा रेखदेख फोर्सको स्थापना गरिनुपर्दछ,’
उनले भने, ‘दुवै देशका नागरिक आवतजावत गर्दा राहदानीको ब्यवस्था गरिनुपर्दछ ।’

नेता शेरचनले नेपालमा सैनिक संख्या ठूलो भएको भन्दै घटाउनुपर्नेमा जोड दिए ।
‘नेपालमा अनावश्यक ब्ययभार कम गर्न सेनाको संख्या घटाएर थोरै संख्याको सेनालाई
प्रशिक्षणको काममा परिचालन गरी हरेक नेपालीलाई सैनिक अभ्यास गराईनुपर्दछ,’ उनले
भने ।

नेपालको जनसंख्याभन्दा झण्डै दोब्बर करिव ४ करोड भारतको र चीनको झण्डै ९ करोडको
हाराहारीमा सेना मात्र रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो अहिले करिव १ लाख सेना
छन् यो संख्या जति नै बढाए पनि छिमेकी राष्ट्रहरुको दाँजोमा पुर्‍याउन नसकिने
भएकोले सेना बढाउने होइन घटाएर ब्ययभार कम गर्नुपर्छ ।’

थोरै सेना राखेर वर्षभरि नै नेपाली जनतालाई सैनिक अभ्यासका लागि प्रशिक्षण
कार्यमा परिचालित गर्नुपर्ने उनले जोड दिए । मे दिवसको अवसर पारेर जापानका विभिन्न
कार्यक्रममा भाग लिन आएका नेता शेरचन बुधबार बिहान स्वदेश प्रस्थान गरेका छन् ।