कसैले भन्दैमा आफूले राजीनामा नदिने प्रधानमन्त्री झलनाथ खनालको भनाई

काठमाडौ  –  कसैले भन्दैमा आफूले राजीनामा नदिने प्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । उनले निश्चित मिसन लिएर सरकारमा आएकोले जिम्मेवारी पूरा नगरी आफू नहट्ने बताए ।

टर्कीको आफ्नो भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै सरकार आफ्नो दायित्व पूरा गर्न दृढ रहेको बताए । संविधानसभाको म्याद थप्नु पूर्व प्रधानमन्त्री खनालले राजीनमा दिनुपर्ने कांग्रेस र एमालेकै केही नेताहरुले भनिरहेको बेला उनले लोकतन्त्रमा अनेक खालका टिका टिप्पणी आइरहने भन्दै त्यसलाई हल्का रुपमा प्रस्तुत गरे । ‘बोल्ने हक सबैसंग छ । यही नै लोकतन्त्रको सौन्दर्यता छ,’उनले भने-‘सरकार आफ्नो दायित्व पूरा गर्न दृढ छ ।’

उनले जेठ १४ अगाडि शान्ति प्रक्रियालाई निष्कर्षमा पूर्‍याउन भरपुर सयमको उपयोग गर्ने बताए ।

अतिकम विकसित राष्ट्रहरुको चौथो सम्मेलनको अध्यक्षता गर्न टर्की पुगेका प्रधानमन्त्री खनाल मुलुकको राजनीतिक परिस्थितिलाई ध्यान दिंदै आफ्नो भ्रमणलाई तीन दिन छोट्याएर फर्किएका छन् ।