काठमाडौं – यसपालिको पर्वतारोहण मौसममा शनिबारसम्म ८२ आरोहीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।
पर्यटन उद्योग महाशाखाका अनुसार आप्पाको कीर्तिमानसँगै यो साता ४९ नेपाली र ३३ विदेशी आरोहीले शिखर चढेका हुन् ।
यो वर्ष आरोहण मौसम सुरु भएपछि पहिलो दिन मे ५ मा (वैशाख २२ गते) सगरमाथामा ‘रोप’ जडान गर्दा एक विदेशी र आठ शेर्पा चुचुरो उक्लेका थिए । यसपालि सगरमाथाका लागि २६ टोलीका २ सय ५१ जनाले आरोहण अनुमति लिएका छन् ।
चढ्नुअघि उचाइमा आफूलाई सजिलो बनाउन आरोहीहरूले तलमाथि -आधारशिविरदेखि क्याम्प १ र २ मा) गर्ने छन् । ‘आरोहणका लागि मौसम निकै महत्त्वपूर्ण हुन्छ,’ सम्पर्क अधिकृत तिलक पाण्डेले भने, ‘शुक्रबार पनि मौसम राम्रो भएकाले १७ नेपालीसहित १३ विदेशीले आरोहण पूरा गरे ।’ त्यस्तै शनिबार तीन आरोही चुचुरो पुगे ।
गतवर्ष १ सय ९० नेपाली र १ सय ५७ विदेशी सगरमाथा उक्लेका थिए ।
यसपालि १५ निजामती कर्मचारीसमेत आरोहणका लागि लाइनमा छन् । तर स्वास्थ्यस्थितिमा समस्या आएपछि परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गा भट्टराई भने काठमाडौं फर्किएका छन् । त्यस्तै इन्डियन एयर फोर्सका २० सदस्य पनि अभियानमा छन् । अधिकृत पाण्डेका अनुसार उनीहरूले आगामी मे २० मा आरोहण सुरु गर्नेछन् ।
२०१० र २००९ मा सगरमाथाका लागि २५ टोलीले अनुमति लिएका थिए । त्यस्तै, सन् २००८ मा भने ३३ टोलीले अनुमति पाएको थियो ।
आरोहण पूरा गर्न आत्मविश्वासका साथै भाग्य पनि बलियो हुनुपर्ने पाण्डेले बताए । केही दिनअघि मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको आरोहण क्रममा मृत्यु भएको थियो । मे १ तारिखमा सात अग्ला हिमाल आरोहण गरिसकेका ५५ वषर्ीय रिक हिचको समेत मृत्यु भएको छ । त्यस्तै शुक्रबार मात्र तीन आरोहीको मृत्यु भएको पाण्डेले जानकारी दिए । त्यसैगरी ८२ वषर्ीय पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्र उपाध्यायका साथै एक जापानी आरोहीको पनि मृत्यु भएको पाण्डेले बताए ।



