जेठ १४ गतेभित्रै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आफूहरु लागिपरेको माओवादी बाबुराम भट्टराईको खुलासा

पानीट्याङ्की, मोरङ – एकीकृत (माओवादी) का उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ गतेभित्रै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आफूहरु लागिपरेको खुलासा गरेका छन्।

 

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले वर्तमान सरकारले नै राष्ट्रिय स्वरुप ग्रहण गरे यही सरकारलाई र ग्रहण गर्न नसके नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्नेमा जोड दिँदै आफूहरुले दलहरुसँग छलफल गरिरहेको बताए।

शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन संविधान सभाको म्याद एक वर्ष थप्न आफूहरुले प्रस्ताव गरेको भन्दै भट्टराईले संविधान नबनाउन म्याद थप्न लागेको हल्ला निराधार भएको बताए।


उनले भने- तोकिएको समयमा संविधान नबनेपछि म्याद थपेर भए पनि संविधान बनाउनका लागि प्रस्ताव गरिएको हो।


नेपाली कङ्ग्रेस र केही मधेसवादी दलहरुले लिएको एकपक्षीय अडानबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष भट्टराईले एकपक्षीय अडानले राजनीतिक मुठभेड निम्त्याउने खतरा हुने भएकाले द्वन्द्व समाधानका लागि आफूहरु सहमतिको राष्ट्रिय सरकार निर्माणको पहलमा जुटेको बताए।


उनले नयाँ राष्ट्रिय सुरक्षा नीति निर्माण गरेर जनुमक्ति सेनालाई नेपाली सेनामा समायोजन गरिने पनि बताए।
– रासस