आज मदन-आश्रितको १८ औं स्मृति दिवस

काठमाडौ  – १८ वर्षअघि रहस्यमय दुर्घटनामा मृत्यु भएका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको स्मृतिमा एमालेले  ‘कार्यकर्ता संरक्षण कोष’ स्थापना गर्ने भएको छ । कोषमा एक वर्षभित्र कम्तीमा दस करोड रुपैयाँ जम्मा गरिने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

मदन-आश्रितको १८ औं स्मृति दिवसका अवसरमा मंगलबार कोषको विधिवत घोषणा गरिने एमालेले जनाएको छ । पार्टीको ८ औं  महाधिवेशनले कोष स्थापनाको अवधारणा पारित गरेको थियो ।

पार्टी काममा निरन्तर क्रियाशील असक्त, असहाय तथा विभिन्न कारणबाट आर्थिक समस्या झेलिरहेका कार्यकर्ताको जीवन रक्षा गर्दै पार्टीमा समाजवादी सांस्कृतिक निर्माणमा जोड दिन कोष स्थापना गर्न लागिएको पोखरेलले दिए ।

कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्नेहरू मानार्थ सदस्य, एक लाख गर्ने आजीवन सदस्य र दस हजार रुपैयाँ सहयोग गर्ने परिषद् सदस्य रहने व्यवस्था गरिएको छ । कोषमा पार्टी अध्यक्षदेखि सबै केन्द्रीय सदस्य तथा सभासदहरूले अनिवार्य  सहयोग गर्नुपर्नेछ । प्रत्येक पार्टी सदस्यले पाँच वर्षमा एक सय रुपैयाँ जम्मा गर्नुपर्ने एमालेले जनाएको छ ।

पार्टी केन्द्रीय कोषबाट समेत निश्चित रकमका रूपमा राख्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए । दुःखमा परेका कार्यकर्ताहरूलाई पार्टीले नहेरेको लगायतका गुनासा बढी रहेका बेला कोष स्थापना हुन लागेको हो । अन्त्यन्तै दुःखमा पर्दा पनि पार्टीले नहेरेको भन्दै झन्डै एक वर्षअघि झापाका पुराना कार्यकर्ता डेकेन्द्र राजवंशीले एमाले मुख्यालय बल्खुमा झुन्डिएर आत्महत्या गरेका थिए ।

यसैगरी मंगलबार नै पार्टी कार्यालय हाताभित्र ‘पुष्पलाल स्मृति भवन’को पनि शिलान्यास गरिने एमालेले जनाएको छ ।  पाँच तले भवन डेढ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।

मदन आश्रितको बाटोमा अविचलितः एमाले

एमालेले भण्डारी र आश्रितले देखाएको बाटोलाई फराकिलो पार्दै अविचलित रूपमा अघि बढिरहने प्रतिबद्घता जनाएको छ । पार्टीका तर्फबाट महासविच ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को सिद्घान्तको सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन् ।

‘बदलिँदो परिवेशमा जबजलाई अझ सम्मृद्ध गर्दै नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनलाई एकताबद्ध गर्ने खाँचो छ,’ महासचिव पोखरेलको विज्ञप्तिमा छ, ‘शान्तिपूर्ण राजनीतिक जनक्रान्तिका उपलब्धिहरूलाई संविधानसभामार्फत संस्थागत गर्ने पहलहरू भइरहेका छन् । यस परिप्रेक्षमा जबजको सान्दर्भिकता थप पुष्टि भएको छ ।’