आफना पार्टीका अध्यक्ष झलनाथ खनाल देशको प्रधानमन्त्री हुन नसकेको एमाले केपी ओलीको आरोप

– रुद्र खड्का

 

नेपालगन्ज – आफना पार्टीका अध्यक्ष झलनाथ खनाल देशको प्रधानमन्त्री हुन नसकेको नेकपा एमाले नेता केपी ओलीले आरोप लगाएका छन्। मंगलबार प्रेस चौतारीले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले ‘खनाल एउटा सेक्सन (गुट) को मात्र प्रधानमन्त्री’ भएको बताए।

 

‘खनाल न पार्टीको अध्यक्ष बन्न सके न देशको प्रधानमन्त्री नै उनले भने, ‘खनालको कुनै पनि काम सन्तोष गर्न लायक छैन।’ प्रधान मन्त्री बन्नु अघि खनालले गरेका सबै प्रतिबद्धता पद प्राप्तिपछि बिर्सेको उनको भनाइ छ। ‘प्रधानमन्त्री हुनु अघि राष्ट्रिय सहमतिको कुरा गर्ने खनालले पद प्राप्त गरेपछि के के राष्ट्रिय सहमति गरे?’ देखाउन ओलीले चुनौती दिए।


एमाले स्थायी कमिटी वैठकमा खनाललाई प्रधान मन्त्री बनाउन प्रस्तावक बनेका ओलीले यत्तिखेर आत्मग्लानी भएको बताए। ‘राम्रो काम गर्लान भनेर प्रस्तावक भइयो , उनले भने, ‘तर यतिखेर खनाल उल्टो बाटोमा हिडेका कारण आत्मआलोचना गर्छु।’ राष्ट्रिय सहमतिविना संविधान निर्माण गर्न नसकिने बताउने ओलीले पत्रकार सम्मेलनमा अधिंकाश समय खनालको आलोचनामा खर्चे।


राष्ट्रिय सहमतिपछि जो पनि प्रधान मन्त्री बन्न सक्ने उनले बताए। तर आफु भने खनालपछि प्रधान मन्त्री नबन्ने प्रष्ट पारे। ‘माधव नेपालपछि खनाल प्रधानमन्त्री बनेर लुच्चो प्रवृत्ति देखाए जस्तै खनाल पछि म प्रधान मन्त्री बन्दिन, उनले भने।


राष्ट्रिय समहती निर्माण हुने निश्चित नभएसम्म सविधान सभाको म्याद थप्न नहुने उनको धारणा छ। कतिपय नेताले दुई तिहाई सभासद्ले संविधान सभाको म्याद थप्ने बताइरहेको बेला ओलीले भने त्यसो गरे संविधान सभा समाप्त हुने बताए।