संविधानसभाको म्याद थपको विरोधमा राप्रपा नेपालद्वारा संविधानसभा अगाडि धर्ना

काठमाडौं –   संविधानसभाको म्याद थपको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा अगाडि बिहीबार अपरान्ह धर्ना दिएको छ । धर्नाका कारण नयाँ बानेश्वर भएर चल्ने यातायात दिउँसो साढे २ बजेदेखि दुई घण्टासम्म ठप्प भयो ।

संविधानसभाको औचित्य सकिएको भन्दै राप्रपा नेपालले संविधानसभा भवन अगाडि धर्ना दिएको हो । धर्नामा अध्यक्ष कमल थापा, महामन्त्री टंक ढकाल, राजाराम श्रेष्ठलगायतका नेताहरु सहभागी थिए । धर्नाअघि वसन्तपुरबाट सुरु भएको र्‍याली संविधानसभा भवन अगाडिसम्म आएको थियो ।

राप्रपा नेपालले संविधानसभाको म्याद थप प्रस्तावको विरोधमा बिहीबारदेखि १० दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । उसले जेठ ६ ७ र ८ गते उपत्यकालगायत गाविस र नगरपालिकामा जनसभा गर्ने तथा जेठ ११ देखि १४ गतेसम्म संविधानसभा घेराउ गर्ने कार्यक्रम तय गरेको छ ।