चिया क्षेत्रको विकासमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन

काठमाडौं –  चिया क्षेत्रको विकासमा देखिएका समस्या समाधानका लागि सरकारले एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयका सचिव हरि दाहालको संयोजकत्वमा चिया क्षेत्रको विकासका लागि तत्कालिन र दीर्घकालीन समाधानका उपायहरुसहित सिफारिस गर्न दाहाल संयोजकत्वमा उद्योग वाणिज्य संघ, चिया मजदुर, चिया व्यवसायी र मजदुर संगठनका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको हो ।

कार्यदललाई एक महिनाभित्र सरकारलाई तत्कालिन र दीर्घकालीन समाधानका उपायहरुसहित सुझाव दिन भनिएको छ । बैशाख दोस्रो साता चिया मजदुर, व्यवसायी र सरकारबीच अबिलम्ब कार्यदल बनाउने सहमति भएको थियो ।

मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा महासेनानी सुरेशराज थापालाई सैनिक सहचारी पठाउने निर्णय गरेको शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता गंगालाल तुलाधारले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री झलनाथ खनालले संविधानसभाको म्याद थपका लागि संविधानसभाका दलहरुसँग भइरहेका छलफलबारे जानकारी दिएका थिए । म्याद थपका लागि भएका घनिभूत छलफलहरु सहमति नजिक पुगेको प्रवक्ता तुलाधारले जानकारी दिए ।