
खुलामञ्चमा भएको जनसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले कांग्रेसको सहिष्णु र सदाचारलाई अपमान गरे माओवादी पतन हुने दाबी गरेका छन् । ‘अझै पनि वार्ता, सहमति र सहकार्यबाटै समस्या समाधान होस् भन्ने चाहन्छौं,’ उनले भने, ‘यदि यसलाई अपमान गरे त्यो भूल हुनेछ, अरु तानाशाह जस्तै माओवादी पनि पतन हुन्छ ।’
उनले अहिलेसम्मको कांग्रेसको सहमतिको प्रयासलाई हेलचेक्र्याईँ गरे स्वयं माओवादीलाई पनि घाटा हुने औंल्याए । दलहरुबीच एक सातामै सहमति हुनुपर्नेमा जोड दिंदै कोइरालाले त्यसो हुन नसके मुलुक नसोचेको दुर्घटनातर्फ धकेलिने बताए ।
कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीले बहुलवाद नमानेसम्म उसलाई विश्वास गर्न नसकिने बताएका छन् ।
संसदीय प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्र प्रेसलगायतका बहुलवादका आधारभूत कुरा मानेमात्र माओवादीलाई विश्वास गर्न सकिने उनले बताए । देउवाले सेनाको प्रस्ताव मान्ने माओवादीको भनाइ सकारात्मक रहेको बताए ।
कांग्रेस उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी नेता आफ्नैबाट असुरक्षित भएको बताएका छन् ।
आफ्नो सुरक्षा नभएकै कारण उसले हतियार नछाडेको पौडेलको भनाइ थियो । ‘माओवादी अरु कसैबाट होइन, आफ्नै कारणले असुरक्षित छ,’ पौडेलले भने, ‘आफै असुरक्षित हुनेले जनताको सुरक्षा र लोकतन्त्रको सुरक्षा कसरी गर्न सक्छ ?’
माओवादीले अहिलेसम्म देखाएको जनमत जालसाजीबाट भएको थियो भन्ने कांग्रेसको जनसभामा उपस्थितले पुष्टि भएको दाबी गरे । उनले माओवादीको जालसाजी अब चल्न नसक्ने उल्लेख गरे ।
नेता पौडेलले प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सात बुँदे सहमति खारेजको माग गरे । उनले सात बुँदे सहमति खारेज गरी राष्ट्रिय सहमतिको सरकार गठन भएमात्र शान्ति र संविधानका बाँकी काम पूरा हुने बताए ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले माओवादीले जनविद्रोह गर्ने कुरा नसुहाउने बताएका छन् । उनले आफ्नै पार्टीभित्रको विद्रोह थेग्न नसक्ने पार्टीले जनविद्रोहको धम्कि दिनु हास्यास्पद भएको जिकिर गरे ।
सिंहले प्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीभित्र सहमति नगरेकाले राष्ट्रिय सहमतिको रटान दिनु उचित नभएको बताए ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने बताएका छन् । उनले माओवादीको अहिलेकै क्रियाकलापका कारण संविधानसभाको म्याद थपको साक्षी कांग्रेस बन्न नसक्ने उनले बताए ।
सिटौलाले शान्ति प्रक्रियादेखि यहाँसम्म आइपुग्दा माओवादीले कुनै पनि सहमति पालना नगरेको बताए । ‘माओवादीलाई गिरिजाबाबुले जंगलबाटै ल्याउनुभएको हो,’ उनले भने, ‘जंगलबाट ल्याएको जनावरझैं माओवादीले अहिलेसम्म त दुःख दियो, अब कहिलेसम्म सहने ? अब सकिन्न ।’
कांग्रेस कोषाध्यक्ष चित्रलेखा यादवले सात बुँदे सहमति नभइ षड्यन्त्र भएको टिप्पणी गरेकी छन् । ‘सात बुँदे, सहमति पनि होइन समझदारी पनि होइन,’ उनले भनिन्, ‘त्यो मात्र षड्यन्त्र हो ।’ यादवले दुई व्यक्तिको सहमतिले राष्ट्रलाई निकास दिन नसक्ने उल्लेख गर्दै तत्काल खारेजको माग गरेकी छन् ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेपालबाट कम्युनिष्ट बढारिने चेतावनी दिए । ‘पश्चिम बंगालबाट कम्युनिष्टहरु बढारिन सुरु भइसकेको छ,’ उनले भने, ‘नेपालमा पनि कम्युनिष्ट बढारिने निश्चित छ ।’
श्रेष्ठले पनि माओवादी शान्ति र संविधानका लागि गम्भीर नभएको आरोप लगाए । उनले पनि सात बुँदे सहमति गरेर जालझेलमा बनेको सरकारबाट प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले माओवादीकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण अबरुद्ध भएको छ । उनले माओवादीले शिविरमा रहेका लडाकुलाई खाली गर्नुपर्ने बताए ।
नेता निधिले माओवादीले जनवादी संविधान चाहेकाले संविधान निर्माण हुन नसकेको बताए । ‘हामीले जनवादी संविधान नमानेकै कारण यो लामो समयसम्म यत्तिकै रहृयो,’ उनले भने ।
नेता निधिले काम गर्न सकिँन भनेर पटक-पटक दोहोर्याउने प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएर मार्गप्रसस्त गर्न सुझाव दिए ।
कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले विश्वमा नै समाप्त भएको कम्युनिष्टतन्त्र नेपालमा पनि टिक्न नसक्ने जिकिर गरे । ‘माओको देशमा माओवादी छैन, मार्कसवादको देशमा मार्क्सवाद छैन,’ उनले भने, ‘नेपालमा पनि जनवादी राज्यव्यवस्था हुन सक्दैन ।’
जनसभालाई सम्वोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधानसभाको औचित्य सकिएको बताएका छन् । ‘एक वर्षमा ८ पटकमात्र बैठक बस्ने संविधानसभा अब चाँहिंदैन,’ उनले भने ।
काँग्रेस नेता नरहरी आचार्यले शुक्रबारबाट जनआन्दोलनको सुरुवात भएको बताएका छन् । उनले भने,



