लहान – सिरहाको उत्तरवर्ती विष्णुपुरकट्टी गाविसका तीन वटा वडामा बिजुलीको अभावमा चार दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
विष्णुपुरकट्टी खानेपानी आयोजनाको वडा नं. १, २ र ४ का करिब चार हजार ५ सय उपभोक्ताहरुका लागि संचालित आयोजनाको विद्युतीय मोटर पछिल्लो चार दिनदेखि विद्युत आपूर्ति बन्द भएपछि खानेपानी आयोजना बन्द भएकाले खानेपानीको हाहाकार भएको हो ।
स्थानीय उपभोक्ताका अनुसार धनगढी गाविसको श्यामपुरमा जडान गरिएको नेपाल विद्युत प्राधिकरणको ११ हजार भोल्टेज क्षमताको प्रसारण लाइनको ट्रान्सफर्मरको फ्युज गएपछि मर्मत नहुँदा खानेपानीको समस्या भएको हो ।
विष्णुपुरकट्टी खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेश्वर श्रेष्ठका अनुसार चारदिनदेखि विधुत आपुर्ति वन्द भएपनि विधुत कर्मचारीलाई खबर गर्दा समेत बनाउन नआएपछि खानेपानी समस्या झेल्नुपरेको हो । विद्युत अभावमा आयोजनाको मोटर नचल्दा खानेपानीको अभाव हुदा गाउँलेहरु वर्षातको पानी बलेसीमा थापेर पिउन वाध्य छन् ।



