माओवादीले उपाध्यक्ष बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिनेलाई तीन महिना लागि निलम्बन

काठमाडौं – एकीकृत नेकपा माओवादीले उपाध्यक्ष बाबुराम भट्टराईलाई ‘ज्यान मार्ने धम्की दिने’ जनक बर्तौलालाई तीन महिना निलम्बन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी समिति बैठकले तीन महिनाका लागि सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो । ‘जनक बर्तौलाले कमरेड बाबुराम भट्टराईको बारेमा सार्वजनिक रूपमा आपत्तिजनक अभिव्यक्ति दिएको ठहर गर्दै बर्तौलालाई तीन महिनाका लागि सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ,’ प्रवक्ता दीनानाथ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘मजदुर संगठनभित्र केही समययता देखापरेको गलत प्रवृत्तिलाई दुरुत्साहित गर्न पार्टीले अविलम्ब पहल गर्ने निर्णय गरिएको छ ।’

बैठकले समयमै त्यस्ता क्रियाकलापको नियन्त्रण नहुनु र सार्वजनिक अभिव्यक्ति दिनु दुवै कमजोरी भएको निष्कर्ष निकालेको छ । भट्टराईले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल, महासचिव रामबहादुर थापा र गृहमन्त्री कृष्णबहादुर महरालाई जानकारी गराएका थिए । बर्तौलाले जेठ २ मा केन्द्रीय कार्यालय परिसरमा धम्की दिएका थिए ।

 कारबाही गर्नुअघि माओवादीले बर्तौलासँग घटनाका सम्बन्धमा बयान लिएको थियो । पार्टीभित्र देखिएका समस्या आन्तरिक रूपमा समाधान गर्ने माओवादीले जनाएको छ । ‘पार्टीभित्र देखापरेका समस्याहरू आन्तरिक रूपबाटै मैत्रीपूर्ण ढंगले हल गर्ने निर्णय पनि गरिएको छ,’ माओवादीको निर्णयमा भनिएको छ ।

सरकारमा ३३ प्रतिशत महिला सहभागी गराउने विवाद केन्द्रीय पदाधिकारी बैठकले टुंग्याउने निर्णय बैठकले गरेको छ । ‘समानुपातिक तथा समावेशी सिद्धान्तलाई सरकारमा ठोस रूपमा लागू गर्ने र महिलाहरूको ३३ प्रतिशतभन्दा बढी प्रतिनिधित्व गराउन केन्द्रीय कार्यालयले अविलम्ब पहल गर्ने निर्णय भयो,’ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजधानीमा जेठ १० गते हुने भनिएको जनपरिचालन तथा आमसभा ११ गते गर्ने निर्णय बैठकले गरेको छ ।