काठमाडौ – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक गतिरोधको अन्त्यका लागि माओवादी र नेपाली काग्रेसवीच नै सहमति बन्नु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा आईतवार बोल्दै उनले दुई विचारको नेतृत्व गरेका माओवादी र काँग्रेसवीच नै मुख्य रुपमा सहमति गर्नुपर्ने र अन्य दलहरुले त्यसमा साथ दिनुपर्ने धारणा राखेका हुन् ।
‘विचारको नेतृत्व र संगठनिक क्षमताको हिसावमा पनि दुई दलवीच सहमति बन्नुपर्छ’ उनले भने । भट्टराईले माओवादी, काँग्रेस, एमाले र मधेसवादी शक्ति सहित शान्ति, संविधान, संविधानसभाको म्याद थप र राष्ट्रिय संयक्त सरकार गठनको विषय एउटै प्याकेजमा सहमति हुनुपर्नेसमेत जनाए ।
प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने पक्षमा आफु रहेपनि सहमतिको सरकारका लागि कोही पनि बाधक बन्न नहुने धारणा उनको थियो ।
साथै ठूलो पार्टी भएको नाताले सहमतिको सरकारको नेतृत्व माओवादीले नै गर्न पाउनु पर्ने उनको दावी थियो ।



