कांग्रेसले सरकारले दुई तिहाईको बलमा संविधानसभाको म्याद थपे दुर्घटना हुने चेतावनी

– खिलानाथ ढकाल

 

विराटनगर – लडाकु र हतियार व्यवस्थापनको सर्त राख्दै संविधानसभा म्याद थप्न व्यवधान गरिरहेको कांग्रेसले सरकारले दुई तिहाईको बलमा संविधानसभाको म्याद थपे दुर्घटना हुने चेतावनी दिएको छ।

 

आफ्नो सर्तमा अडिग रहेको जनाउँदै कांग्रेस शीर्ष नेताले सोमबार विराटनगरमा जबरजस्ती गर्न खोजे अनर्थ र दुर्घटना हुने चेतावनी दिएका हुन्।


‘अन्तरिम संविधान राजनीतिक सहमतिको दस्तावेज हो’, तरुण दल नगर समितिद्वारा आयोजित विचार गोष्ठीमा महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘विना सहमति संशोधन गरेर अघि बढे परिणाम राम्रो हुने छैन।’


माओवादी लडाकु संख्या निर्धारण गरी समायोजन र हतियार सरकारलाई नबुझाएसम्म म्याद थप्नु औचित्यहीन हुने बताउँदै सिटौलाले संविधान बनाउन नसक्ने संविधानसभाको काम नभएको बताए। ‘के का लागि थप्ने, माओवादी संविधान बनाउनै चाहँदैन अनि संविधासभा किन चाहियो?’, उनले भने।


जेठ १४ अघि नै राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएर बाटो खोल्नुपर्ने बताए। ‘शान्ति प्रक्रियाका काम चार दिनभित्र सम्पन्न हुनुपर्छ, त्यसपछि संविधानसभाको म्याद थप्नेबारे पुनःविचार गर्न सकिन्छ’, सिटौलाले भने।


शान्ति र संविधानमा माओवादी इमानदार नभएको बताउँदै कांग्रेस नेताहरुले तीन वर्षसम्म शान्ति प्रक्रियामा कुनै प्रगति हुन नसकेकाले कांग्रेसले सर्त राखेको बताए। दुई तिहाईबाट बल प्रयोग गरी संविधासभा म्याद थप्न प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले षडयन्त्र गरिरहेको बताउँदै कांग्रेसले आपत्ति जनाएको छ।
नेतृ चित्रलेखा यादवले संविधानसभा शक्तिवान छ भन्दैमा जे पनि गर्न नपाइने बताइन्। संविधानसभाको समयमात्र बढाएर कुनै उपलब्धी नहुने बताउँदै यादवले भनिन्, ‘समय मात्रै बढाउँदै जाने हो भने संविधासभाको बैधानिकतामाथि प्रश्न उठ्छ।’ शान्ति प्रक्रियालाई असरल्ल छाडेर म्याद थप्ने खेलमा लागे मुलुक असफल हुने उनले बताइन्।

माओवादी ‘विश्वविजेता’ बन्न खोजेको आरोप लगाउँदै उनले माओवादी राजनीतिक रुपमा इमानदार बन्नुपर्ने बताइन्। चार दिनभित्र हतियार सरकारलाई नबुझाएसम्म संविधानसभाको म्याद थप्न जायज नभएको उनले बताइन्।


युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले सरकारी प्रस्तावमा जस्ताको तस्तै समर्थन गरे थपिएको समयको पनि सदुपयोग नहुने ठोकुवा गरे। संविधान बनाउन नसक्ने संविधानसभाको काम पनि नभएको उनले बताए। एमाले र माओवादीले जनताका राजनीतिक अधिकार खोस्ने गरी राज्य पुनःसंरचनामा विधेयक संसद्मा पास गरेको भन्दै उनले त्यस्तो संविधानसभाले बनाएको संविधान मान्य नहुने बताए। ‘जनताका अधिकार खोस्ने संविधानसभाले संविधान नबनाए नबनाओस्’, थापाले भने। अर्का युवा नेता मनमोहन भट्टराईले माओवादी सत्तालिप्सामा केन्द्रित हुँदा मुलुकमा समस्या निम्तिएको बताए।