सुडान घोटालासँग जोडिएका चिनियाँ नागरिकको १० लाख अमेरिकी डलर जफत गर्नुका साथै एक वर्ष कैद सजायको फैसला

काठमाडौ  – सुडान घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले चिनियाँ नागरिक ऊ लिसाङको नाममा बैंकमा जम्मा भएको १० लाख अमेरिकी डलर जफत गर्नुका साथै एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।

अमेरिकाको तरला इन्टरनेसनलले लिसाङको नाममा १७ जुलाई २००८ मा स्थानान्तरण गरेको ६ करोड ७४ लाख ५० हजार रुपैयाँ बराबरको डलर भरपर्दो र पर्याप्त स्रोत खुल्न नसकेको भन्दै अदालतले यस्तो फैसला गरेको हो ।

अमेरिकाको चेज मोर्गन बैंकबाट नेपाल बंगलादेश बैंकको भैंसेपाटी शाखामा स्थानान्तरण भएको रकम शंकास्पद देखिएपछि राष्ट्र बैंकको वित्तीय सूचना केन्द्रले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई पठाएको थियो । तर उक्त रकम फिर्ता गराउन विभिन्न शक्तिकेन्द्रमार्फत चलखेल भएका कारण अनुसन्धान थाँती राखेको विभागले अढाई वर्षपछि गत फागुन १३ गते सम्पत्ति शुद्धीकरण कानुनअन्तर्गत मुद्दा दायर गरेको थियो । लामो समय फरार भएका लिसाङ गत माघमा विभागमा बयान दिएपछि पुनः फरार छन् । अदालतले सफाइका लागि सार्वजनिक सूचना गरे पनि उनी उपस्थित भएनन् ।

प्रतिवादीले ठेक्कापट्टाको काम गरेबापतको रकम भनी विभागमा बयान गरे पनि वैध स्रोतबाट प्राप्त रकम भन्ने कुनै प्रमाणबाट पुष्टि गराउन सकेको नपाइएकाले कारोबार शंकास्पद देखिएको फैसलामा उल्लेख छ ।

फैसलाले अवैध कमाइ गर्ने प्रवृत्ति निरुत्साहित गर्न सघाउने विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले टिप्पणी गरे ।