सरकारले बन्द हड्तालबाट प्रभावित हुन नदिन विद्यालयलाई शान्ति क्षेत्र घोषणा

काठमाडौं  –  बन्द हड्तालबाट प्रभावित हुन नदिन सरकारले  विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थीलाई निर्वाध अध्ययनको वातावरण मिलाउन विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको हो । शान्ति क्षेत्र घोषणापछि विद्यार्थी बोक्ने ‘स्कुल बस’लाई पनि एकै रंगको हुने छ । ‘कस्तो रंग राख्ने शिक्षा मन्त्रालयले निर्धारण गर्नेछ,’ बैठकपछि शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता गंगालाल तुलाधारले जानकारी दिए ।

यसैगरी अब सरकारी र निजी विद्यालयमा छात्राका लागि छुट्टै शौचालय बनाउने निर्णय सरकारले गरेको छ । छात्राका लागि सार्वजनिक सवारीमा पनि आरक्षणको व्यवस्था गरिने मन्त्री तुलाधारले जानकारी दिए ।

विद्यालयको सवारीलाई एम्बुलेन्सलाई जस्तै निर्वाध चल्न दिने व्यवस्था मिलाइने उनले बताए । ‘जेब्रा क्रस’मा पनि विद्यार्थीलाई प्राथमिकता दिइने छ ।

मन्त्रिपरिषद् बैठकले गणतन्त्र स्तम्भको डिजाइन स्वीकृत गरेको छ । यसैगरी सरकारले द्वन्द्वमा आमाबाबु गुमाएका बालबालिकाको पुनर्स्थापन कार्यक्रमको निर्देशिका मन्त्रिपरिषद्को आर्थिक समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकले कपिलवस्तुको बाणगंगा, लालपुर, शिवपुर, नन्दगनरलगायत मधेस आन्दोलनमा सम्पत्ति विनास भएका २ हजार २ ससय ३५ परिवारलाई ३५ हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा भएको आक्रमणको खेद व्यक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले साना तथा ठूला जलविद्युत् आयोजनाको सुरक्षाका लागि प्रहरी खटाउने निर्णय गरेको छ । आयोजना क्षेत्रका सर्वसाधारणको माग र गुनासो सुन्न ऊर्जा मन्त्रालयले आयोग बनाउनेसमेत निर्णय गरेको छ ।

राजनीतिक नियुक्ति

सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा बलराम तिमल्सिनालाई नियुक्त गरेको छ । यसैगरी चलचित्र विकास बोर्डको अध्यक्षमा गणेश भण्डारीलाई नियुक्त गरिएको छ ।

यसैगरी कानुन आयोगको सदस्यमा विष्णुकुमार श्रेष्ठ, विश्वप्रकास भण्डारी र सुजन तामाङ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा रामलाल तुलाधार, ग्रामीण आवास कम्पनीको महानिर्देशकमा नरेश चौधरी नियुक्त भएका छन् ।