राजधानीमा उच्च सुरक्षा सतर्कता

केपी ढुङ्गाना

काठमाडौं  – गृह मन्त्रालयमा बसेको सुरक्षा निकायका उच्च अधिकारीहरुको बैठकले उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने ठहर गरेको छ। ३ वटै सुरक्षा निकाय प्रमुख, गृह सचिव र सेनाका प्रतिनिधि सम्मिलित बैठकले संविधान सभाको म्याद थपबारे स्थिति प्रष्ट नभएको भन्दै यस्तो निर्णय गरेको हो।

बैठकले म्याद थपबारे अहिलेसम्म स्थिति प्रष्ट हुन नसकेको र संविधान सभाको म्याद थप्ने र नथप्ने पक्षबीचको भिड बढ्दै गएकाले भिडन्त हुन सक्ने निष्कर्ष निकाल्दै कमाण्डरहरुलाई संविधान सभा भवन क्षेत्रको चारै नाका साँझ ६ बजेबाट बन्द गर्न निर्देशन दिएको छ।

स्रोतका अनुसार मीनभवन, बिजुलीबजार, थापागाउँ र मध्य बानेश्वर क्षेत्रमा सर्वसाधारणको आवागमनमा समेत कडाइ गरिने निर्देशन पनि दिइएको छ। विद्युत् प्राधिकरणलाई अँध्यारोमा सुरक्षा बहालीमा समस्या हुने भएकाले आज उपत्यकामा लोडसेडिङ नगर्न अनुरोध पनि गरेको छ।

बैठकले उपत्यका भित्रने-बाहिरिने नाका र मुख्य शहरी चोक, सरकारी कार्यालय, राष्ट्रपति निवास क्षेत्र, प्रधान मन्त्री निवास क्षेत्र, राजनीतिक दलका मुख्यालयहरु र सञ्चार माध्यममा मुख्यालयहरुमा सुरक्षा सङ्ख्या र निगरानी बढाउन पनि निर्देशन दिएको छ।

सुरक्षा अनुगमन र निर्देशनका लागि गृह मन्त्रालयमा गृह सचिवको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको छ। सोही पोष्टले प्राप्त सुरक्षा विवरणको विश्लेषणका आधारमा महानगरीय प्रहरी आयुक्त कार्यालयमा रहेको भ्याली कमाण्ड पोष्टलाई आवश्यक निर्देशन दिने गरेको छ। भ्याली कमाण्ड पोष्टमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका प्रतिनिधि हुन्छन्।