एकसाताभित्र हतियार थन्क्याउन माओवादी सहमत

काठमाडौँ -एकीकृत नेकपा(माओवादी)ले आफ्नो दलका नेताको सुरक्षाका निम्ति लिएका हतियार एकसाता भित्र शिविरमा रहेका हतियारसँगै ‘कन्टेनर’मा राख्न तथा दोहोरो सुरक्षा प्रणाली हटाउन सहमति जनाएको कांग्रेस नेता रामचन्द्र पौडेलले जनाएका छन्। उनका अनुसार सो सहमति प्रमुख तीन दललगायतका दलहरुसँगको वार्तामा माओवादीले जनाएको हो।

कन्टेनरमा रहेका हतियार सेना समायोजन विशेष समितिले अनुगमन तथा रेखदेख गर्ने विषयमा पनि एमाओवादी सहमत भएको नेता पौडेल र महामन्त्री प्रकाशमान सिंहले बताए।

आफ्नो दलले दुई चरणमा संविधानसभाको कार्यावधि थप्न प्रस्ताव गरेको र पहिलो चरणमा ४५ दिन गर्ने खाका प्रस्तुत गरेको जानकारी पनि उनीहरूले दिए।

नेताद्वयका अनुसार तीन दलको बैठकमा प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमति कायम हुने अवस्थामा आफू बाधक नबन्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

संविधानसभाको म्याद थप गर्ने तथा शान्ति प्रक्रियालाई टुङ्ग्याउनेसम्बन्धी तीन दलीय सहमतिको मस्यौदा अहिले तयार भइरहेको जानकारी पनि उनीहरुले दिएका छन्। रासस